कैलालीको घोडाघोडी नगरपालिकाद्वारा कीर्तिमान कायम गर्न सफल खेलाडी सम्मानित
कैलाली: हङकङमा सम्पन्न २२औँ एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप–२०२६ अन्तर्गत महिला ४०० मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेकी खेलाडी सङ्गीता विकलाई कैलालीको घोडाघोडी नगरपालिकाले नगद एक लाखसहित सम्मान गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिकाकी खेलाडी विकलाई नगरपालिकाले शनिवार आयोजना गरेको उत्कृष्ट विद्यालय, खेलकुद क्लब, प्रशिक्षक, खेलाडी तथा विद्यार्थी सम्मान, असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री, छात्रवृत्ति तथा खेल सामग्री वितरण कार्यक्रममा नगरप्रमुख खडक रावतले सम्मान गरेका हुन्। उनका प्रशिक्षक तेज देउवा पनि सम्मानित भएका छन्।
सङ्गीताले महिला ४०० मिटर दौड ५९.६१ सेकेन्डमा पूरा गर्दै सन् २०११ मा काठमाडौँमा मनीषा अधिकारीले बनाएको १५ वर्ष पुरानो राष्ट्रिय यु–२० कीर्तिमान तोड्दै नेपाली एथ्लेटिक्समा नयाँ इतिहास रचेकी हुन्।
यस्तै, नगरपालिकाले राष्ट्रिय माध्यमिक विद्यालय सुखडका विद्यार्थी दीपेश रेग्मीलाई नगरभित्र एसइईमा उत्कृष्ट नतिजा ल्याएवापत १० हजार नगदसहित सम्मान गरिएको थियो। एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका १५ जना विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीयका आधारमा क्रमशः १० हजार, सात हजार ५०० र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कक्षा ८ को परीक्षामा ४ जिपिए प्राप्त गरेका सामुदायिक तथा संस्थागत विद्यालयका २३ जना विद्यार्थीलाई जनही पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
कक्षा ८ र एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थागत र सामुदायिक विद्यालयलाई सम्मान गरिएको थियो। कार्यक्रमका बीच नगरपालिकाले नगरभित्रका १३४ जना असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ। योसँगै नगरपालिकाभित्र विज्ञान विषय अध्ययन गर्ने सामुदायिक विद्यालयका उत्कृष्ट ११ जना विद्यार्थीलाई वार्षिक रु नौ हजारका दरले छात्रवृत्ति समेत प्रदान गरेको छ।
विभिन्न खेलकुद क्लबलाई क्रिकेट तथा फुटबलका खेल सामग्री वितरण गर्नुका साथै खेल प्रशिक्षकहरूलाई सम्मान गरेको छ। घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र पूर्वाधार विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। सुदूरपश्चिममै उत्कृष्ट शैक्षिक नतिजा दिने नगरपालिका बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा शिक्षा र खेलकुद क्षेत्रमा थप लगानी गरिने जानकारी दिए।
उपप्रमुख गुलिया चौधरीले गुणस्तरीय शिक्षाबिनाको समृद्ध घोडाघोडीको परिकल्पना सम्भव नभएको बताउँदै शैक्षिक उपलब्धिले नगरको प्रतिष्ठा बढाएको धारणा राख्नुभयो । युवालाई कुलतबाट जोगाउन खेलकुद प्रभावकारी माध्यम भएकाले खेलकुद गतिविधिलाई थप विस्तार गरिने उहाँले बताउनुभयो । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको समेत उहाँको भनाइ थियो ।
कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र सुवेदीले सामुदायिक विद्यालयले पनि मेहनत, अनुशासन र गुणस्तरीय शिक्षणमार्फत उत्कृष्ट नतिजा हासिल गर्न सक्ने बताउनुभयो । विद्यालय आफैँ अब्बल बन्ने लक्ष्यका साथ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको साझा प्रयास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले घोडाघोडीलाई शिक्षा र खेलकुदको केन्द्रका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थी र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।