सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुत्र वियोगबाट जन्मिएका एक क्रान्तिकारी

२०८३ असार २०, ०९:१६ नारायण अवस्थी

गाउँका मुखियाको छोरा रणबहादुर सबैभन्दा पहिले माओवादी बनेका थिए। सानैमा आमा गुमाएका उनले आफ्ना सन्तानलाई पनि सानैमा छोडेर जालान् भन्ने कसैले कल्पनासम्म गरेको थिएन।

रणबहादुर गाउँका आँटिला युवा थिए। नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेकै अवस्थामा समयको आँधीले उनको बाटो कुन बेला फेरिदियो कसैले पत्तै पाएनन्। २०५८ सालमा बैतडीमा माओवादीले जिल्ला जनसरकार गठन गर्दा रणबहादुर त्यसका सदस्यमध्ये एक थिए। त्यसपछि मात्रै उनी माओवादीमा लागेको छर्लङ्ग भयो, त्यो भन्दा अगाडि उनको सम्बन्ध माओवादीसँग छ भन्ने अलिकति गाइँगुइँ मात्रै सुनिएको थियो।

त्यही वर्ष मंसिरमा सरकारले संकटकाल घोषणा गर्‍यो। त्यससँगै जिल्लाभरि बन्दुकको भाषा बोल्न थालियो। जंगलहरू युद्धका साक्षी बने, गाउँहरू त्रासका बासिन्दा। सेनाले चलाएको कारबाहीमा रणबहादुरसहित जनसरकारका अन्य सदस्यसहित ६ जना दुर्गास्थानको जंगलमा ढले। गोलीले उनीहरूको शरीर छेड्यो, तर उनीहरूले बोकेको विचार भने त्यहीँको पहाडमा प्रतिध्वनित भइरह्यो।
छोराको मृत्युको खबरले बुढा मुखियाको संसार नै उजाडियो।

जुन छोराले बुढेसकालमा बाबुको काख थाम्नुपर्ने थियो, उसैको शव खोज्दै उनी दुई दिनको कठिन पैदल यात्रा गरेर दुर्गास्थान पुगे। सुरक्षा फौजले रणबहादुर र उनका ६ जना साथीलाई एउटै खाल्डोमा गाडेको थियो। बुढा हातहरूले एउटा–एउटा शव निकाल्दै आफ्नै सन्तान खोजिरहे। अन्ततः उनले रणबहादुरलाई चिने। आँसु र माटो मिसिएको त्यो क्षणमा संसारका सबै शब्द मौन भएका थिए।

छोराको अस्थि बोकेर उनी राताशिला आर्यघाट पुगे। शरीर थकित थियो, मन झन् थाकेको। जुन छोराले बुवालाई दागबत्ती दिनुपर्ने हो, त्यहीँ ठाउँमा एक बृद्ध बुवा, छोराको अस्थि हातमा समातेर आँसु झार्दै कसैलाई पर्खिरहेका थिए।
त्यही बेला विद्यालयबाट फर्किरहेको मलाई उनले रोक्दै भने, "बाबु, आफन्तहरूलाई खबर गरिदेउ। छोराको अस्थि सेलाउनु छ।"

म खबर गर्न हिँडेँ। बाटोभरि मेरो मन रणबहादुरसँगै हिँडिरह्यो। मुखियाको अव्यक्त पीडाले मलाई लखेटी रह्यो। मैले उनका इष्ट मित्रहरूलाई खबर गरेँ र म आफ्नो बाटो लागेँ, मुखिया र उनका आफन्त आर्यघाटमा अस्थि बिसर्जन गर्न लागे।

***
दुर्गास्थानको जंगलमा गोलीको वर्षाबीच छाती थापेर ढलेका ती युवकले आफ्नो जीवन त गुमाए, तर उनका बृद्ध बाबुलाई भने नयाँ जीवनदर्शन दिएर गए।

सुरुमा मुखिया माओवादीप्रति अनुदार थिए। काँग्रेसका कट्टर समर्थक उनी छोराले माओवादीको बाटो रोजेको कुरा स्वीकार्न सक्दैनथे। गुनासो गर्थे, रिसाउँथे। तर रणबहादुर भूमिगत भएपछि उनी फेरि कहिल्यै घर फर्केनन्।
पछि मुखिया रुँदै एउटा घटना सुनाउँथे, "अन्तिम पटक छोरालाई अँगालो हालेर फेरि आफ्नै हातले खाल्डोमा पुरेँ... बाबु भएर त्यो दिन मैले आफ्नै मुटु गाडेको थिएँ।"

त्यसपछि उनी पहिलेका मुखिया रहेनन्। पुत्र वियोगले उनको राजनीतिक विचार नै बदलिदियो। जसको विरोध गर्थे, गाउँमा त्यही आन्दोलनका सबैभन्दा दृढ समर्थक मात्रै होइन गाउँ जनसरकार प्रमुख नै बने।

त्यसबेला माओवादीहरूको प्रभाव गाउँमा जेठको डढेलोजस्तै फैलिएको थियो। आगोले वन निलेजस्तै उनीहरूको विचारले गाउँको चेतना ढाक्दै गयो। विद्यार्थी, किसान, मजदुर, महिला, दलितदेखि बुढाबुढीसम्म सबै कुनै न कुनै कमिटीका सदस्य थिए। गाउँमा भेट हुनेबित्तिकै "कमरेड, लालसलाम!" भन्नु शिष्टाचार मात्र होइन, अनिवार्यजस्तै बनिसकेको थियो।

तर उता सुरक्षा फौज पनि त्यत्तिकै चलाख बन्दै गएको थियो।
उनीहरू माओवादीकै भेषमा गाउँ पस्न थाले। काँधमा झोला, हातमा बन्दुक, टाउकोमा रातो रिबन। बजार र गोरेटोमा सेन्ट्री बसेका छापामारहरूलाई उनीहरूले टाढैबाट "कमरेड, लालसलाम!" भन्थे।
सामुन्नेको अनुहार आफ्नै साथीको ठानेर जसले सहजै "लालसलाम!" फर्कायो, उसैको छातीमा केही सेकेन्डपछि गोली बज्थ्यो।
रेडियो नेपालले त्यसलाई "दोहोरो भिडन्त" भन्थ्यो।
तर भाग्दै गरेको मानिस कसरी दोहोरो भिडन्तमा मारिन्थ्यो भन्ने प्रश्न त्यतिबेला गाउँका धेरै मनमा मौन रूपमा उम्रिएको थियो।

२०६० साल कात्तिक।
मुखिया गहुँ छर्न खेत जोताउँदै थिए। त्यही बेला सुरक्षा फौजको टोली गाउँमा आयो।
"जनसरकारको प्रमुख को हो?" उनीहरूले सोधे।
मुखियाले कुनै हिच्किचाहट नगरी उत्तर दिए—
"म हुँ।"

परिचय पूरा हुन नपाउँदै दुई सैनिकले उनलाई समाते। शायद उनले त्यही क्षण आफ्नो अन्त्य देखिसकेका थिए। तर अनुहारमा डर थिएन।
बरु उनले चर्को स्वरमा नारा लगाए—
"माओवादी जिन्दावाद!"

एउटा सैनिकले वाकिटकीमा केही बोल्यो। केही क्षणको मौनतापछि गोली पड्कियो।
मुखिया खेतको आलीमै घोप्टो परे।

गोली लाग्नुअघि उनका ओठबाट निस्किएको अन्तिम वाक्य आज पनि मेरो कानमा उस्तै गरी गुञ्जिरहन्छ—
"वीर सहिद... लालसलाम!"
त्यो आवाजसँगै एउटा बुढो शरीर ढल्यो। तर एउटा इतिहास भने अझै बाँचेको छ।

माओवादीले मुखिया र रणबहादुरको आहुती बिर्सिए होलान्, उक्त घटनाका साक्षीहरूले पुत्र र बृद्ध बाबुको प्राण उत्सर्गको कथा साँचेर राखेको छ। गाउँघरमा अहिले पनि खेत खलिहान, मेलापातमा बुवा र छोराको वीरताको चर्चा हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस