सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्तरीय होटल राति १२ बजेसम्म सञ्चालन गर्न पाइने

२०८३ भदौ २९, ०२:०८ खबर संवाददाता

धनगढीः कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।

यसअघि होटल तथा व्यवसाय राति १० बजेभित्र बन्द गर्नुपर्ने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलका लागि सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब एक सय छ।

सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन्। राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले सञ्चालन समय थप गरिएको व्यवसायीको भनाइ छ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डेयले राति अबेर धनगढी पुग्ने यात्रु तथा पर्यटकलाई होटलमा सेवा लिन सहज हुने बताए। उनका अनुसार यसले धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन र होटल तथा पर्यटन व्यवसायलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, राति १२ बजेसम्म सञ्चालन गर्ने सुविधा स्तरीय होटललाई मात्र दिइएको छ। अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि यसअघि कायम रहेको राति १० बजेसम्मको समयसीमा यथावत् रहनेछ।

प्रशासनले थप समय सञ्चालनको अनुमति पाए पनि होटल सञ्चालकलाई सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ। रातिको समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्राहकको विवरण, होटल परिसरको निगरानी तथा आवश्यक सुरक्षा व्यवस्थापनमा जिम्मेवार बन्न प्रशासनले आग्रह गरेको हो।

स्तरीय होटलको सञ्चालन समय थपिएसँगै धनगढीमा व्यवस्थित रात्रिकालीन व्यवसाय सञ्चालनको बहससमेत पुनः अघि बढेको छ।

कमेन्ट लोड गर्नुस