सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने तीन पालिकामा पौने दुई अर्बभन्दा बढी बजेट

२०८३ असार १९, ०१:४७ नारायण अवस्थी

धनगढीः प्रदेश सरकारले गत असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ मा मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा अन्य सांसदको भन्दा बढी बजेट र योजना पारेको तथ्य फेला परेको छ। मुख्यमन्त्री शाहको प्रदेश निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकामा प्रदेश सरकारले आगामी बजेटमा एक अर्ब ८० करोड ५२ लाख रुपैया विभिन्न योजनामा विनियोजन गरेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। जसमध्ये मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्र बाहेक उनले आफ्नै पालिका मान्ने टीकापुर, बर्दगोरिया र अछामको रामारोशन गाउँपालिकामा पनि सयौं योजनामा बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्रीको पुर्ख्यौली अछामको रामारोशन गाउँपालिका हो। रामारोशन गाउँपालिकामा प्रदेश सरकारले विभिन्न योजनामा ३० करोड २५ लाख बजेट हालेको छ। प्रदेश सरकारको विभिन्न निकायले कार्यान्वयन गर्ने गरी १५ करोड ७५ लाख बजेट छ भने ससर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गर्ने गरी थप १४ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मै पर्ने बर्दगोरिया गाउँपालिकामा ३१ करोड ९० लाख बजेट पारिएको छ, जसमा २२ करोड ४८ लाख प्रदेश सरकारका निकायले कार्यान्वयन गर्ने गरी योजना समावेश भएका छन् भने ९ करोड ४२ लाख रुपैयाँ गाउँपालिकालाई वित्तीय हस्तान्तरण गरिएको छ।

मुख्यमन्त्रीले आफ्नै क्षेत्र भन्ने टीकापुर नगरपालिकामा ३२ करोड ४६ लाख बजेट विनियोन गरेको देखिन्छ। जसमध्ये १८ करोड ५९ लाख प्रदेश सरकारका निकायले कार्यान्वयन गर्ने तथा १३ करोड ८७ लाख ससर्त अनुदानका रुपमा वीत्तीय हस्तान्तरण गरिने भएको छ।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकामा ८७ करोड १७ लाख बजेट हालिएको छ। जसमा ८२ करोड २ लाख प्रदेश सरकारका निकायले कार्यान्वयन गर्ने गरी विनियोन भएकोमा ससर्त अनुदानका रुपमा थप ५ करोड १५ लाख बजेट विनियोजन गरिएको वार्षिक विकास कार्यक्रम पुस्तिकामा उल्लेख छ।

लम्कीपछि दोस्रोमा मोहन्याल गाउँपालिकामा ५२ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ। विनियोजित बजेटमा ४८ करोड ९ लाख प्रदेश सरकार मातहतको कार्यालयले कार्यान्वयन गर्ने छन् भने चार करोड ४९ लाख ससर्त अनुदान रहेको छ।

मुख्यमन्त्रीकै निर्वाचन क्षेत्रमा पर्ने जानकी गाउँपालिकामा ४० करोड ७६ लाख बजेट राखिएको छ। यहाँ ३१ करोड ७ लाख प्रदेश सरकार मातहतका निकायले कार्यान्वयन गर्ने छन् भने ९ करोड ६९ लाख ससर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गरिनेछ।

प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै होइन् उनले मन पराएको स्थानीय तहमा मनग्य बजेट लगेको टिप्पणी गरेका छन्। वार्षिक विकास कार्यक्रम पुस्तिकामा उल्लेख भएको विवरण हेर्दा कैलालीको लम्कीचुहा, मोहन्याल, जानकी, बर्दगोरिया र टीकापुरसहित मुख्यमन्त्रीको पुर्ख्यौली घर रहेको अछामको रामारोशन गाउँपालिकाका विभिन्न योजनामा प्रदेश सरकारले दुई अर्ब ७५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले बजेटको बिरोध गर्दै आएको भए पनि मुख्यमन्त्री कमलबहादुर शाहले भने बजेटमा केही प्राविधिक त्रुटि मात्रै भएको बताएका छन्। बिहीवार निवासमै पत्रकार सम्मेलन गर्दै प्राविधिक त्रुटि व्यवस्थापन गरेर अगाडि बढ्ने उनले बताएका हुन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस