देशभर फैलियो मनसुन, मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौँ: नेपालभर मनसुनी वायुको प्रभाव सक्रिय भएसँगै यस वर्षको मनसुन देशैभर पूर्ण रूपमा फैलिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएसँगै देशभर मनसुन फैलिएको हो।
नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्दछ। तर यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो।
महाशाखाले मनसुन सक्रिय भएसँगै वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अद्यावधिक मौसम पूर्वानुमानको जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।