दलित समुदायमा वैदिक संस्कार फैलाउने पन्त पुर्चौडी नगरपालिकाबाट सम्मानित
बैतडी:नगरपालिकाबाट दलित समुदायमा वैदिक हिन्दु सनातनी संस्कारको प्रवर्द्धन गर्दै जन्मदेखि मृत्युसम्मका धार्मिक कर्मकाण्ड सञ्चालन गर्दै आएका ज्योतिषाचार्य गणेशप्रसाद पन्तलाई बैतडीको पुर्चौडी नगरपालिकाले सम्मान गरेको छ।
नगरपालिकाले जातीय आधारमा हुने सामाजिक विभेद अन्त्यका लागि रचनात्मक योगदान पुर्याएको भन्दै पन्तलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो।
नगरप्रमुख दीपकबहादुर बमले सामाजिक परिवर्तनका लागि निरन्तर योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै उनीहरूको हौसला बढाउने नीति अनुरूप पन्तलाई सम्मान गरिएको बताए। उनका अनुसार जातीय विभेदविरुद्ध धार्मिक र सामाजिक चेतनामार्फत पन्तले पुर्याएको योगदान उदाहरणीय छ।
लामो समयदेखि दलित समुदायसहित समाजका सबै वर्गले आयोजना गर्ने सप्ताह, व्रतबन्ध, विवाह, न्वारान, वास्तुपूजा, गृहप्रवेशलगायत वैदिक संस्कारमा सहभागी हुँदै आएका पन्तको कार्य प्रभावकारी र प्रेरणादायी रहेको स्थानीयको भनाइ छ। स्थानीय शिक्षक दिनेश नागरीले पन्तको अभियानले जातीय विभेद न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
सम्मान कार्यक्रममा नगरप्रमुख बम, उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली, नगर प्रवक्ता धीरेन्द्र बमलगायत जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखाली निवासी पन्तले २७ वर्षअघि दलित बस्तीमा वैदिक कर्मकाण्ड सुरु गरेका थिए। त्यसयता उनले विभिन्न दलित बस्तीमा धार्मिक संस्कार सञ्चालन गर्दै आएका छन्।
पन्तका अनुसार उनले दमाईं, कामी, बादीलगायत सिल्पी समुदायका करिब १ हजार ६ सय जनालाई वैदिक परम्पराअनुसार जनै धारण गराइसकेका छन्। जातीय आधारमा हुने विभेदलाई कानुनले अपराध मानेको उल्लेख गर्दै उनले यस्तो विभेद अन्त्य गर्न धार्मिक अगुवाहरूले अग्रसर भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।