सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खानेपानी संकट गहिरिँदै

२०८३ असार १४, ०३:४१ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा हाते नलमा पानी क्रमशः सुक्दै गएपछि खानेपानीको समस्या गम्भीर रूपमा देखिन थालेको छ।

लामो समयदेखि परेको खडेरीका कारण उपमहानरपालिकाको विभिन्न वडाका टोल तथा बस्तीमा खानेपानीको समस्या देखिएको हो। 

धनगढी–६ का स्थानीय मेघराज भारतीले जाली टोलमा पनि नल्का सुकेर पानी आउन छोडेको बताएका छन्। 'अहिले गर्मी बढेको छ तर नलमा पानी आउन छोडेको छ। पानी नआउँदा टोलबासीको दैनिकी कठिन बनेको छ' भारतीले भने।

चार/पाँच वर्षदेखि धनगढीका विभिन्न वडामा पानीको समस्या देखिन थालेको बताइएको छ।

यतिबेला धनगढीको फूलवारी क्षेत्र, वडा नम्बर ७, १२ र ६ मा खानेपानीको समस्या चर्को भएको छ। 

विगत केही वर्षदेखि बर्सादमा समेत पर्याप्त पानी नपर्दा भूमिगत जलस्रोतमै असर परेकाले पानीको शंकट देखा परेको बताइएको छ। खानेपानीकै समस्या भएपछि धनगढी क्षेत्रमा रोपाइँसमेत प्रभावित भएको छ।

 धनगढी-१४ फूलवारीका जगदिश भट्टले नल सुक्दा खानेपानी उपभोग गर्न समस्या भएको बताए। उनले चार/पाँच वर्षदेखि बर्सादमा समेत थोरै पानी परेकाले पानीको समस्या बढेको बताएका छन्।

फूलवारी-१४ को घाङल टोलका अधिकांश घरका नल्का सुकेका छन्। नल्का सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय महादेव अवस्थीले बताए। उनले असार ६ गतेदेखि आफ्नो घरको नल्कामा पानी आउन छोडेको बताएका छन्।

तर, फूलवारी क्षेत्रमा खानेपानीको समस्या भएका टोलमा अहिले उपमहानरपालिकाले ट्याङ्करबाट पानी वितरण गरिहरेको जनाएको छ।

फूलवारी क्षेत्रमा देखिएको पानी संकट समाधान गर्न धनगढी उपमहानगरपालिका स्याउले बजार नजिकै डिप बोरिङ राख्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ।  

धनगढी-७ का विभिन्न टोलमा पनि खानेपानीको समस्या देखा परेको छ। यस्तै वडा नम्बर १२ को हुलाकी राजमार्ग छेउका बस्तीहरुमा नल्का सकेर खानेपानीको समस्या भएको स्थानीयले बताए।

उपमहानगरपालिकाले भने तत्कालीन आवश्यकता अनुसार वडा नम्वर ६, ७, १२ र १४ मा पानी वितरण गरी स्थानीयलाई राहत दिने प्रयास गरेको जनाएको छ। साथै, वर्षा नहुँदासम्म आवश्यकतानुसार पानी वितरण कार्यलाई निरन्तरता दिने बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस