सुदूर नेपाललाई विश्वसँग जोड्दै

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु

२०८३ असार ११, १२:३९ खबर संवाददाता

धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको हो। विस्फोटका क्रममा विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेका थिए।

सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। जोशीको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी तिमिल्सिनाले बताए।

बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोली अभ्यासमा संलग्न रहँदा उक्त दुर्घटना भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस