सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१४ स्याउलेमा खानेपानी संकट

२०८३ असार १०, ०४:१५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१८ स्याउलेका बासिन्दा यतिबेला गम्भीर खानेपानी संकटमा परेका छन्। लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र भूमिगत जलस्रोत सुक्दै जानुका कारण टोलका अधिकांश नल्का, मोटर र बोरिङबाट पानी आउन छाडेको छ। यसले स्थानीयको दैनिकी नै प्रभावित बनाएको छ।

पछिल्लो तीन सातादेखि पानीको अभाव झेल्दै आएका स्याउलेवासी हाल उपमहानगरपालिकाले ट्यांकरमार्फत वितरण गर्ने पानीकै भरमा छन्। मंगलबारदेखि प्रभावित क्षेत्रमा ट्यांकरबाट खानेपानी वितरण सुरु गरिएको छ।

हरेक बिहान ट्यांकर आउने समय नजिकिँदै गर्दा महिला, पुरुष र बालबालिका भाँडाकुँडा, ग्यालेन, बाल्टी र ड्रम बोकेर सडक किनारमा लाइन लाग्ने गरेका छन्। ट्यांकर आइपुग्नेबित्तिकै पानी भर्नेको भीड लाग्ने गर्छ। घरमै सहज रूपमा पानी पाउने आशा बोकेका स्थानीय अहिले एक बाल्टिन पानीका लागि पनि लामो समय कुर्न बाध्य छन्।

स्थानीयका अनुसार नल्का, मोटर र बोरिङ पूर्ण रूपमा सुक्दा पिउने पानीदेखि सरसफाइसम्मका काम प्रभावित भएका छन्। विद्यालय जाने बालबालिकाले नियमित सरसफाइ गर्न नपाउँदा समस्या थपिएको छ भने पानीको अभावले स्वास्थ्यमा असर पर्न सक्ने चिन्ता बढ्दै गएको छ।

चिकित्सकहरूले दैनिक कम्तीमा दुई लिटरभन्दा बढी पानी पिउन सुझाव दिए पनि पर्याप्त पानी नहुँदा धेरै परिवारले आवश्यक मात्रामा पानी उपभोग गर्न सकेका छैनन्। खाना पकाउने, लुगा धुने र सरसफाइ जस्ता आधारभूत कामसमेत प्रभावित बनेका छन्।

स्याउलेका अधिकांश बासिन्दा कृषि र पशुपालनमा निर्भर छन्। तर पानी नपर्दा खेतबारी सुक्न थालेका छन् भने पशुचौपायालाई खुवाउने पानीको समेत अभाव भएको छ। धान रोपाइँ तथा खेतीपातीको मुख्य सिजनमै पानी नपाउँदा किसानहरू थप चिन्तित बनेका छन्।

स्थानीयका अनुसार यसअघि जेनतेन नल्काको पानी प्रयोग हुँदै आएको थियो, तर त्यो स्रोतसमेत सुक्न थालेपछि अवस्था झनै जटिल बनेको हो। बर्खायाममा रोपाइँ गर्ने समयमा नै पानीको स्रोत नहुनुले समस्या दोब्बर भएको उनीहरूको गुनासो छ।

स्थानीयवासीले अस्थायी रूपमा ट्यांकरबाट पानी वितरण भइरहे पनि दीर्घकालीन समाधानका लागि घरघरमा शुद्ध खानेपानीको स्थायी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। हाल भने स्याउलेवासीका लागि बिहानको पहिलो काम नै पानी भर्न सडकमा पुग्नु बनेको छ।

कमेन्ट लोड गर्नुस