धनगढीमा प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूलको बिक्री–वितरण रोक्न प्रशासनसँग माग
धनगढीः नेपाल सरकारले प्रतिबन्ध लगाएका प्लास्टिकजन्य कृत्रिम फूलको खुला आयात तथा बिक्री–वितरणका कारण स्वदेशी पुष्प व्यवसाय प्रभावित भएको भन्दै कैलालीका पुष्प व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नियन्त्रणका लागि पहल गर्न माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा प्रतिबन्धित कृत्रिम फूलको बिक्री–वितरणका कारण नेपाली किसानले उत्पादन गरेका ताजा फूल बिक्री हुन नसकी आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरिएको छ। यसले स्वदेशी पुष्प व्यवसाय, रोजगारी तथा वातावरण संरक्षणमा समेत नकारात्मक असर परेको व्यवसायीहरूको भनाइ छ।
ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन समितिलाई सक्रिय बनाउन, प्रतिबन्धित प्लास्टिकजन्य फूल बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न तथा भन्सार, प्रहरी र स्थानीय तहसँग समन्वय गरी अवैध आपूर्ति नियन्त्रण गर्न माग गरिएको छ।
त्यस्तै स्थानीय तहले नियमित बजार अनुगमन सञ्चालन गर्नुपर्ने, सार्वजनिक कार्यक्रम, सरकारी कार्यालय तथा विद्यालयहरूमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने र स्वदेशी पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव पनि दिइएको छ।
व्यवसायीहरूले सम्बन्धित निकायसँग समन्वय गरी प्रतिबन्धित प्लास्टिकजन्य फूलको बिक्री–वितरण रोक्न तत्काल संयुक्त अनुगमन सञ्चालन गर्न र नेपाली किसान तथा पुष्प व्यवसायीको संरक्षणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमा वातावरण संरक्षण, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि प्रतिबन्धित कृत्रिम फूलको कारोबार नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ।