रास्वपा केन्द्रीय सदस्यमा आनन्द चन्दले उम्मेदवारी दिने
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि आनन्द चन्दले उम्मेदवारी दिने भएका छन्। चितवनमा आगामी आइतबारदेखि मंगलबार (असार ७ देखि ९ गते) सम्म हुने पहिलो महाधिवेशनमा उनले उम्मेदवारी दिने भएका हुन्।
कैलाली–५ बाट गत निर्वाचनमा रास्वपाबाट निर्वाचित चन्द जनस्वास्थ्य क्षेत्रमा सक्रिय छन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यापन गरेका थिए। जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पिएचडी गरेका हुन्।
रास्वपाको विधानअनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। प्रत्येक प्रदेशबाट समावेशीताका आधारमा कम्तीमा पाँच जना केन्द्रीय सदस्य अनिवार्य रहने प्रावधान पनि रहेको छ।