सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सुदूरपश्चिम सुझाव संकलन सम्पन्न, नेताहरूले संगठन पुनर्गठनको माग उठाए

२०८३ असार ७, १२:४८ खबर संवाददाता

धनगढीः नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार धनगढीमा करिब १३ घण्टा चलेको कार्यक्रममा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलको उपस्थिति रहेको थियो।

प्रदेश कमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा अधिकांश जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीको वर्तमान संरचना र नेतृत्वमा पुनरावलोकन आवश्यक रहेको धारणा राखेका छन्।

कार्यक्रमअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट नेताहरूलाई सम्बोधन गर्दै विभिन्न प्रकारका धारणा बोकेर आएका व्यक्तिहरूलाई धेरै महत्व नदिन र खुला रूपमा आफ्ना विचार राख्न आग्रह गरेका थिए।

तर कार्यक्रममा सहभागी अधिकांश नेताहरूले संगठन पुनर्गठनको पक्षमा स्पष्ट मत व्यक्त गरेका थिए। कैलालीसहित अधिकांश जिल्लाका अध्यक्षहरूले नेतृत्वदेखि वडा तहसम्म संरचनागत सुधार आवश्यक रहेको बताएका थिए।

डोटी जिल्लाबाट भने केही नेताहरूले तत्काल नेतृत्व परिवर्तनको सट्टा संगठनात्मक सन्तुलन कायम राख्नुपर्ने धारणा राखेका थिए। यस्तै, दार्चुला र अन्य जिल्लाका प्रतिनिधिहरूले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका थिए।

केन्द्रीय सदस्यहरूले पनि पार्टी संरचनाको समग्र समीक्षा र पुनर्गठन आवश्यक रहेको भन्दै मिश्रित तर मुख्य रूपमा सुधारमुखी धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी नेताहरूले सुझाव सुन्ने काममै सीमित रहेर औपचारिक प्रतिक्रिया नदिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस