कैलालीको धुलीकोट दरबार सम्पदाको संरक्षणका लागि पुरातत्व विभाग अध्ययन गर्दै
कैलाली: कैलालीको ऐतिहासिक धुलीकोट दरबार क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षणका लागि पुरातत्व विभागले औपचारिक रूपमा अध्ययन तथा तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।
हालको मोहन्याल गाउँपालिका–७, राजकाँडा, धुलीकोट क्षेत्रमा रहेका दरबारसँग सम्बन्धित पुरातात्िवक महत्वका क्षेत्र खण्डहरमा परिणत भएर चोरिने र मासिँदै अतिक्रमणको चपेटामा परेका छन् ।
विशेष गरी दरबार क्षेत्र, टुँडिखेल, रानीकुवा, पानीपँधेरो, ओखलहरू, हात्तीखाल, हात्तीढुङ्गा, भैरवस्थान, देवल, देवीस्थान, वास्तु किल्ला अतिक्रमण हुन थालेपछि संरक्षणका लागि पुरातत्व विभागलाई पत्रचार गरिएको थियो ।
विगत केही वर्षदेखि त्यहाँका स्थानीयवासीको सक्रियता विशेष गरी रतनसिंह मुडभरी र कमल शाहीको पहलमा पुरातत्व विभागले त्यहाँका पुरातात्िवक सम्पदाको संरक्षणका लागि कार्य थालेको जनाइएको छ ।
विभागले गत वर्ष वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा दरबार क्षेत्रमा भएको अतिक्रमण हटाई वरिष्ठ पुरातत्व अधिकृतको टोलीमार्फत पुरातात्िवक सम्पदाको निरीक्षण गरेको थियो ।
पुरातत्व विभागको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत धुलीकोट दरबार क्षेत्रको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको दोस्रो चरणमा प्राविधिक टोलीले स्थलगत सर्भे गरेर तथ्याङ्क सङ्कलन सुरु गरेको धुलीकोट सम्पदा संरक्षण समितिका सदस्यसचिव कमल शाहीले जानकारी दिए।
प्रतिवेदन पेस भएपछि आगामी वर्ष उत्खनन गरेर अध्ययन गरिने तथा संरक्षण योजना बनाई मर्मत संरक्षण कार्य अघि बढाइने पुरातत्व विभागका उपसचिव अरुण नकर्मीले जानकारी दिनुभयो । धुलीकोटबाट कर्णाली नदीलगायत सुर्खेतका गाउँ र हिमाल देखिन्छन् भने दक्षिण तराई खण्ड छर्लङ्ङ देखिन्छ ।
प्राडा राजाराम सुवेदीका अनुसार धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलालीको बडाचौरबाट हेर्दा घरको धुरी जस्तै देखिने भएकाले धुरीकोट भन्दाभन्दै धुलीकोट बन्न पुगेको हो ।
नेपाल एकीकरण हुनुपूर्व धुलीकोटमा बाइसेचौबिसे राज्य अन्तर्गत राजाले राज्य गरेको इतिहासकारले उल्लेख गरेका छन् । धुलीकोट राज्यसँग जोडिएका विभिन्न पौराणिक पुरातत्व अहिले पनि उक्त क्षेत्रमा देख्न सकिने स्थानीय बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको कर्णाली चिसापानीबाट तीन घण्टा पैदल यात्रामा राजकाँडा धुलीकोट पुग्न सकिन्छ ।