छपन्न किलोमिटर सडक निर्माण
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशमा ५६ किलोमिटर सडक निर्माण गरेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चैत मसान्तसम्म त्यति सडक निर्माण गरिएको हो । निर्मित सडकमा ११ किलोमिटर कालोपत्रे, २६ किलोमिटर ग्राभेल र १९ किलोमिटर माटो सडक रहेको छ । यसै गरी सरकारले दुई वटा पुल निर्माण गरेको जनाइएको छ । यस्तै यो अवधिमा ३६ किलोमिटर तटबन्ध निर्माण भएको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले जानकारी दिए ।
प्रदेश सरकारले सतह सिँचाइ योजनाबाट तीन हजार ३८३ हेक्टर, भूमिगत सिँचाइबाट ११० हेक्टर र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाबाट २४० हेक्टर सिँचाइक्षेत्र विस्तार गरेको छ । सरकारले चैत मसान्तसम्म १५७ किलोमिटर पक्की कुलो र सात किलोमिटर कच्ची कुलो निर्माण गरेको छ ।
खानेपानी सेवाको विस्तारबाट २८ हजार ३७ जनालाई स्वच्छ खानेपानी सेवा उपलब्ध भएको जनाइएको छ। यस्तै प्रदेशको ८७.३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
डेढ खर्ब कर्जा प्रवाह
सुदूरपश्चिम प्रदेशमा रहेका बैङ्क तथा वित्तीय संस्थाले हालसम्म प्रदेशमा डेढ खर्ब रुपियाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह एक खर्ब ६३ अर्ब पुगेको छ । हालसम्म एक खर्ब ८९ अर्ब रुपियाँ भने निक्षेप सङ्कलन गरिएको छ । प्रदेशभरि बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८४३ रहेको छ । यसअघि आव २०८१/८२ मा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या ८४९ थियो । यसै गरी प्रदेशमा उद्योगको सङ्ख्या एक हजार ५९९ पुगेको छ ।