कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–१ लम्की टीकापुर सडकखण्डबाट अवैध लागूऔषध खैरो हिरोइन ७ ग्राम २७० मिलिग्रामसहित २ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–६ बस्ने २५ वर्षीय गणेश लामिछाने र २५ वर्षीय गोबिन्द घर्ति मगर रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र. ०१–००८ प १३४३ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई चेकजाँच गर्दा उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको हो।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँ मैलीबाट ३ ग्राम १८० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित २ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जिल्ला कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुर बस्ने २ जना १७ वर्षीय किशोर रहेका छन्।
भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००९ प ९६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।