सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा धम्की दिइएको आरोपबारे कांग्रेसको संसदीय छानबिन माग

२०८३ असार ४, ०३:२६

काठमाडौँ: नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्की दिइएको भन्ने विषय सार्वजनिक भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले बुधबार प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीलाई बोलाएर दबाब दिँदै पक्राउ पुर्जी जारी गर्न लगाइएको आरोप लगाए। उक्त विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उल्लेख गर्दै उनले यसको सत्यतथ्यबारे सरकारसँग स्पष्ट जवाफ माग गरे।

‘अहिलेभन्दा १३ घण्टा अगाडि मात्रै सरकारको कार्यशैलीसँग सम्बन्धित अत्यन्तै लज्जास्पद विषय बाहिर आएको छ। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको, अन्यथा त्यहीँ थुन्ने धम्की दिइएको कुरा सार्वजनिक भएको छ,’ केरुङले संसदमा भने। ‘यदि यो विषय सत्य हो भने सम्माननीय प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ।’

केरुङले उक्त घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरे। प्रधानमन्त्री कार्यालयमा बोलाएर आयोगका पदाधिकारीमाथि दबाब र धम्की दिइएको आरोप अत्यन्त गम्भीर भएकाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

‘यस विषयको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्छ। होइन भने प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्ट जानकारी दिनुपर्छ,’ उनले भने।

त्यसैगरी, सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस