सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा दोस्रो संस्करणको सिद्धार्थ युवा क्लब खुल्ला फुटबल प्रतियोगिता सुरु

२०८३ जेठ २८, ०६:५३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा रहेको सिद्धार्थ युवा क्लबको आयोजनामा दोस्रो संस्करणको खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ तथा सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

'हाम्रो सामूहिक गोल, लागू पदार्थ दुर्व्यसनको अन्त्य' भन्ने नारासहित सञ्चालन गरिएको प्रतियोगिताले युवामा बढ्दो लागू पदार्थ दुर्व्यसन नियन्त्रण गर्न तथा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको उद्घाटन कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ओझाले नगरपालिकाले युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।

प्रतियोगिताको मुख्य प्रायोजन कृष्णपुर नगरपालिकाले गरेको छ भने प्रगतिशील सामुदायिक वन, एकता सामुदायिक वन, ऐश्वर्य सामुदायिक वन तथा तपेश फर्निचर उद्योगले सह–प्रायोजन गरेका छन्।

प्रतियोगितामा २० वटा टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडलसहित नगद एक लाख एक हजार एक सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ५१ पुरस्कार पाउनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही दुई हजारका दरले पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

उद्घाटन समारोहमा नेकपाका केन्द्रीय सदस्य गोविन्द बिक, कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष घुम्मा राना, वडा नम्बर ६ का वडा सदस्य चक्र रैकाल, सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर ओड तथा प्रगति सामुदायिक वनका अध्यक्ष महेन्द्र रोकायले शुभकामना मन्तव्य व्यक्त गरेका थियो।

समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न टोलीका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक सिद्धार्थ युवा क्लबका पदाधिकारीहरूले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै खेलाडीहरूलाई खेल भावना, अनुशासन तथा मित्रतापूर्ण प्रतिस्पर्धासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस