गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। तर सम्पत्ति विवरणसम्बन्धी विवाद उठेपछि उनले पदबाट राजीनामा दिएका थिए।
गुरुङको कार्यकाल र उनीसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो। उक्त समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले समितिले पेस गरेको प्रतिवेदन ग्रहण गरेको छ। त्यसपछि प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
यस्तै, प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न पनि सिफारिस गरेका छन्। पुनले पनि आजै राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।