धनगढीका किसानलाई गहुँको बीउमा ५० प्रतिशत अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
धनगढी: धनगढी उपमहानगरपालिकाले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममार्फत गहुँको बीउमा अनुदान दिन लागेको हो ।
कृषि विकास शाखाले बुधबार सूचना जारी गर्दै वडा नं. ६, ७, ८, ९, १०, १२, १४, १५, १६, १७, १८ र १९ का इच्छुक कृषक, कृषक समूह तथा कृषि फर्मलाई अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ । निवेदन दिने अन्तिम म्याद यही असोज ६ गतेसम्म तोकिएको छ ।
शाखाका अनुसार विजय, गौतम, एनएल–९७१ र आदित्य गरी चार जातका गहुँको उन्नत बीउ अनुदानमा उपलब्ध गराइनेछ ।
अनुदानका लागि कार्यक्रम मागको निवेदनसहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस तथा जग्गाधनी प्रमाणपुर्जा वा जग्गा सम्झौताको प्रतिलिपि पेस गर्नुपर्नेछ । ऐलानी जग्गामा खेती गर्ने कृषकले वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ ।
कृषक समूह वा कृषि फर्मका हकमा दर्ता प्रमाणपत्र, प्यान, व्यवसाय दर्ता र कर चुक्ताको प्रतिलिपि तथा समूहको निर्णयको प्रतिलिपि आवश्यक पर्ने शाखाले जनाएको छ ।
निवेदन फारम सम्बन्धित वडा कार्यालय र उपमहानगरपालिकाको कृषि विकास शाखाबाट प्राप्त गर्न सकिनेछ । रीत नपुगेका तथा म्याद नाघेर प्राप्त भएका निवेदनमाथि कुनै कारबाही नहुने शाखाले जनाएको छ ।