भारतबाट फर्किएका परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै
बेइजिङः परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन्। भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो।
स्रोतका अनुसार खनाल जुन १४ ९जेठ ३१ गते० तारिखमा चीन प्रस्थान गर्नेछन् । १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ। त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा नेपाली डायस्पोरासँग अन्तक्र्रिया पनि गर्नेछन्। उनी १७ तारिखमा फर्किने कार्यक्रम रहेको छ । मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत भ्रमणको विषयमा केन्द्रित हुँदा चीन भ्रमणको तयारीबारे छलफल गर्न नपाएको बताए। ‘चिनियाँ साथीहरुसँग सम्पर्कमै छौँ। केही नयाँ आउनासाथ औपचारिक जानकारी दिने नै छौं,’ उनले भने।
परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए। भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए।खासगरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले स्पष्ट रुपमा आफ्ना अडान दोहो¥याएका थिए। चीन भ्रमणको क्रममा पनि यो विषयले प्रवेश पाउनसक्ने बताइएको छ। साथै दुई देशबीचको सम्बन्धका विभिन्न आयाममा पनि छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ।