कार्की आईजीपीबाट हटाइए, मनोज केसी नियुक्त
धनगढी: नेपाल सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गते बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार प्रहरी महानिरीक्षक कार्कीलाई उक्त पदमा खटाइएको छ। कार्की विशेष सुरक्षा सल्लाहकारमा खटिएसँगै रिक्त हुने प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गरिएको छ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यससँगै नेपाल प्रहरीको नेतृत्वमा डा. मनोजकुमार केसी आउने भएका छन्।