मुख्यमन्त्री शाहकै सहयोगीले लिए रास्वपाको सदस्यता, 'प्राविधिक त्रुटि’ भएको दाबी
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहकाे सचिवालयमा कार्यरत सदस्यले नै राष्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्यता लिएकाे रहस्य सार्वजनिक भएको छ।
मुख्यमन्त्रीकाे सचिवालयमा प्रशासन सहायक पदमा कार्यरत चन्द्र विकले लम्कीचुहा नगरपालिका-१ बाट रास्वपाकाे सदस्यता लिएकाे फेला परेको हो।
तर, विक अहिले पनि मुख्यमन्त्री कार्यालयमै प्रशासन सहायक पदमा कार्यरत छन्। उनले प्रष्टिकरण दिँदै प्राविधिक त्रुटीका कारण रास्वपामा सदस्यता लिएकाे देखिएकाे दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा यसबारे प्रष्टिकरण दिँदै विकले आफूले औपचारिक रूपमा रास्वपाकाे सदस्यता नलिएकाे स्पष्टीकरण दिएका छन् ।
२०७९ काे चुनावमा रास्वपाकी केन्द्रीय सदस्य तथा श्रीमतीकी दिदी रूपा शंकर काभ्रेबाट समानुपातिक उम्मेदवार रहेको बताउँदै विकले उनैलाई मत दिन माेबाइल नम्बर र नागरिकता नम्बर दिएकाे उल्लेख गरेका छन्।
रास्वपामा आन्तरिक रूपमा सबैभन्दा बढि मत ल्याउने व्यक्तिलाई नै समानुपातिक उम्मेदवार बनाउने नीति लिएकाे थियाे।
श्रीमतीकाे दिदीलाई आन्तरिक चुनाव जिताउने उदेश्यले प्रयाेग गरेकाे नम्बर र नागरिकताका आधारमा रास्वपाले सदस्यताकाे सूचीमा राखेकाे विककाे दाबी छ।
विक नेपाली काँग्रेस निकट दलित संघकाे केन्द्रीय सदस्य छन् भने नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्। उनी मुख्यमन्त्री शाहकाे सचिवालयमा काम गर्दै आएका छन्।
विकले प्राविधिक त्रुटिले रास्वपाकाे सदस्यतामा आफ्नाे नाम देखिए पनि नेपाली काँग्रेस नछोडेको बताएका छन्।
विकको स्पष्टीकरण यस्तो-
मैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक सदस्यता लिएको भन्ने विषयमा विभिन्न भ्रम, टिप्पणी तथा अनावश्यक चर्चा भइरहेको सन्दर्भमा वास्तविकता स्पष्ट पार्न चाहन्छु। यस विषयलाई अतिरञ्जित ढंगले समाचारको रूप नदिन मिडियाका साथीहरू तथा सबैमा विनम्र अनुरोध गर्दछु।
२०७९ सालको निर्वाचनमा मेरी श्रीमतीकी दिदी तथा रास्वपाकी केन्द्रीय सदस्य हाम्रो दिदि रूपा शंकर काभ्रेबाट समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो। त्यतिबेला रास्वपाले “समानुपातिक उम्मेदवारमध्ये जसले बढी मत प्राप्त गर्छ, उसैलाई सांसद बनाइने” भन्ने आन्तरिक व्यवस्था लागू गरेको थियो। यस्तो अभ्यास मैले आस्था राखेको नेपाली कांग्रेस लगायत अन्य दलहरूमा त्यतिबेला थिएन। त्यसैले आफन्तको नाताले समर्थन स्वरूप मैले रास्वपाको एपमार्फत उहाँलाई भोट गरेको थिएँ।
भोट हाल्ने क्रममा मोबाइल नम्बर र नागरिकता नम्बर मागिएको थियो। मैले त्यो प्रक्रिया केवल मतदानका लागि आवश्यक होला भन्ने बुझेको थिएँ। पछि थाहा भयो कि उक्त विवरण उनीहरूको सिस्टममा सदस्यताका रूपमा समेत दर्ता हुने रहेछ। यो पूर्ण रूपमा प्राविधिक तथा प्रक्रियागत त्रुटिको विषय हो, कुनै राजनीतिक उद्देश्य वा स्वार्थसहित लिइएको सदस्यता होइन।
मैले विचार, सिद्धान्त र आस्थालाई स्वार्थका लागि साट्ने व्यक्ति भएको भए खुला रूपमा कार्यक्रममै उपस्थित भएर सदस्यता लिने थिएँ होला। यदि रास्वपाको कुनै कार्यक्रम, बैठक वा गतिविधिमा मेरो सक्रिय संलग्नता देखाउन सकिन्छ भने सार्वजनिक गर्न म खुला चुनौती दिन्छु।
अहिले केही साथीहरूले “रास्वपाको सदस्यता लिएको व्यक्ति मुख्यमन्त्रीको सचिवालयमा कसरी ?” भन्ने प्रश्न उठाइरहनुभएको छ। यस सम्बन्धमा पनि मैले यस्तो प्राविधिक त्रुटि भएको विषय आजभन्दा करिब दुई महिना अगाडि नै माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यूलाई जानकारी गराइसकेको थिएँ।
म स्पष्ट रूपमा भन्न चाहन्छु — मैले कुनै पार्टी परिवर्तन गरेको छैन, न त कुनै लाभ वा अवसरका लागि सदस्यता लिएको हो। मेरो आस्था, जिम्मेवारी र प्रतिबद्धता जहाँ थियो, आज पनि त्यहीँ कायम छ।
तथ्यलाई बंग्याएर भ्रम सिर्जना गर्नु भन्दा वास्तविकता बुझेर जिम्मेवार ढंगले प्रस्तुत गरिदिन सबैमा हार्दिक अनुरोध गर्दछु।