सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर प्रचण्डले भने, 'सरकारविरुद्ध आन्दोलनका लागि सबैलाई तयार पार्दैछौँ'

२०८३ जेठ ९, ११:४२ खबर संवाददाता

धनगढीः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आन्दोलनका लागि देशभर सबैलाई तयार पारिरहेको बताएका छन्। प्रचण्डले धनगढी पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन्।

धनगढीमा जारी प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा आन्दोलन अपरिहार्य बन्दै गएको धारणा राखे। पूर्वदेखि पश्चिमसम्म देखिएको सुकुम्वासी आन्दोलन स्वतःस्फूर्त नभएको उल्लेख गर्दै उनले यसमा पार्टीको पहलसमेत रहेको बताए।

प्रचण्डले भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सीमावर्ती क्षेत्रका गरिब र निमुखा जनतामाथि अत्याचार भएको टिप्पणी गरे। साथै उनले वर्तमान सरकारले न्यायालयमाथि समेत हस्तक्षेप गरिरहेको आरोप लगाए।

‘विद्यार्थी संगठन र ट्रेड युनियनका लोकतान्त्रिक अधिकारमाथि सरकारले तरबार चलाइरहेको छ,’ उनले भने, ‘यसविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई आन्दोलनका लागि तयार पारिरहेका छौँ।’

बिहीवारदेखि धनगढीमा सुरु भएको नेकपाको परामर्श तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल र रञ्जित श्रेष्ठ सहभागी थिए। कार्यक्रम शुक्रवार सम्पन्न भएसँगै उनीहरू काठमाडौँ फर्किएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस