रास्वपाको गोदावरी नगर समिति विघटन
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगरपालिका नगर समितिले सामूहिक रूपमा राजीनामा दिएको छ। समितिको आज बसेको बैठकले संयुक्त राजीनामा गर्ने निर्णय गरेको हो।
नगर सभापति दिपक ओझाका अनुसार समितिले कुनै दबाब, प्रभाव वा आन्तरिक विवादका कारण नभई नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण बनाउन मार्ग प्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको जनाएको छ।
समितिले जारी गरेको धारणा अनुसार संगठनलाई थप सक्रिय, प्रभावकारी र गतिशील बनाउने लक्ष्यसहित नयाँ टोलीलाई अवसर दिन आवश्यक ठानेर यस्तो निर्णय गरिएको हो। सामूहिक राजीनामापछि गोदावरी नगर क्षेत्रमा पार्टीको आगामी संगठनात्मक संरचना र नयाँ नेतृत्व चयनलाई लिएर राजनीतिक चासो बढेको छ।
रास्वपाको स्थानीय तहमा गरिएको यो कदमलाई पार्टीभित्रको आन्तरिक पुनर्संरचना र आगामी दिनका लागि नयाँ रणनीतिक तयारीका रूपमा समेत हेरिएको छ।