सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री संसदमा अनुपस्थित भए विरोध जारी रहने विपक्षीको चेतावनी

२०८३ वैशाख ३१, ०१:१४ खबर संवाददाता

विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिए संसदमा विरोधलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी सांसदहरूले मुलुकको कार्यकारी प्रमुखले संसदका कामकारबाहीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनीहरूले संसदमा उठेका विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने धारणा राखे।

निष्कल राई ले संसद चिया चौतारी नभई विश्वविद्यालयजस्तो गम्भीर थलो हुनुपर्ने बताए। उनले मुलुकको कार्यकारी प्रमुखले संसदजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु संसदीय अभ्यासप्रतिको उदासीनता भएको टिप्पणी गरे। छलफलका क्रममा उठेका महत्वपूर्ण प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनले प्रधानमन्त्री अनुपस्थित रहे विरोध जारी रहने चेतावनी दिए।

त्यस्तै ऐनबहादुर महर ले प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासभन्दा व्यक्तिकेन्द्रित शैलीतर्फ मुलुकलाई लैजान खोजेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले प्रधानमन्त्रीले पटक–पटक संसदको अपमान गरेको आरोप लगाउँदै सरकारमाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने धारणा राखे।

त्यसैगरी खुश्बु ओली ले लोकतन्त्र केवल चुनाव जित्ने प्रक्रिया मात्र नभई निरन्तर संवाद र जवाफदेहिताको प्रणाली भएको बताए। संसदमा प्रधानमन्त्रीको उपस्थिति अनुहार देखाउनका लागि नभई जनताप्रति उत्तरदायी बन्नका लागि आवश्यक रहेको उहाँको भनाइ थियो। सदनमा उठेका प्रश्नको जवाफ दिनु प्रधानमन्त्रीको दायित्व भएको उनले उल्लेख गरे।

कमेन्ट लोड गर्नुस