गगनलाई सभापति मान्न सकिँदैन भन्ने मुख्यमन्त्री शाह स्वागत गर्न विमानस्थल नै पुगे
धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका गगनकुमार थापालाई मान्न सकिन्न भन्ने अभिव्यक्ति दिँदै आएका सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले युटर्न लिएको बुझिएको छ।
काँग्रेसमा प्रकाशमान सिंह निकट रहेका मुख्यमन्त्री शाह देउवाको पक्षमा खुलेरै लागेका थिए। देउवा पक्षमा अन्य जनप्रतिनिधिले चुप लागेर वस्तुस्थितिबारे अवलोकन गरिहरका बेला मुख्यमन्त्री शाह भने मुखर रुपमै विशेष महाधिवेशनबााट निर्वाचित कार्यसमितिको विपक्षमा अभिव्यक्ति दिँदै आएका थिए।
पार्टी सभापति थापाप्रति कठोर अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री शाह शनिवार भने दलबलसहित गगनकुमार थापाको स्वागन गर्न धनगढी विमानस्थल पुगेका छन्। नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन आएका सभापति थापाको स्वागत गर्न मुख्यमन्त्री शाह अन्य मन्त्रीसहित विमानस्थल पुगेका हुन्। शनिबारदेखि धनगढीमा सुरु हुने भेलामा सहभागी हुन पार्टी सभापति गगनकुमार थापासहितका नेताहरू धनगढी पुगिसकेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलाेपटक निवर्तमान सभापति शेरबहादुर देउवाकाे गृह प्रदेशमा भइरहेको कार्यक्रमलाई सम्बाेधन गर्दैछन्।
काँग्रेस नेता कार्यकर्ताले थापालाई धनगढी विमानस्थलमा स्वागत गरेका छन्। उनकाे स्वागतमा देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह आफ्नाे क्याबिनेटका मन्त्री लिएर धनगढी विमानस्थल पुगेका थिए।
विमानस्थलमा शाहले थापालाई स्वागत गरेका हुन्। अन्य मन्त्रीहरूलाई भने सुरक्षाकर्मीले भित्र प्रवेश नदिएपछि भेटन् पाएनन्। मुख्यमन्त्री र मन्त्रीहरू थापाकाे स्वागतमा पुगे पनि देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने देखिएनन्।
प्रकाशमान सिंहको कोटाबाट संसदीय दलको नेता बन्ने मौका पाएका शाहले प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाएका छन्। थापाको विरुद्ध खुलेरै अभिव्यक्ति दिँदै आएका उनले शनिवार भने आफू युटर्न भएको सन्देश दिएका छन्। प्रदेश सभा सदस्यहरू नै मुख्यमन्त्री शाहले संसदीय दलको नेताबाट हट्नुपर्ने लविङ गर्न थालेपछि शाह पार्टी सभापतिको पक्षमा लागेको चर्चा चलेको छ। शाहले पद जोगाउन युटर्न लिएको हुन सक्ने काँग्रेसका एक नेताले बताए।