कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा भेला गर्ने
काठमाडौँः नेपाली कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको छ।
सभापति गगनकुमार थापाको उपस्थितिमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुधवार बसेको बैठकले भेलाको मिति र स्थानसमेत तय गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिए।
जसअनुसार यही वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा कर्णाली प्रदेशको सुर्खेत, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशका पोखरा, जेठ ४ र ५ गते बागमती प्रदेश धुलिखेल, जेठ ६ र ७ गते मधेस प्रदेशको बर्दिवास, जेठ ८ र ९ गते कोशी प्रदेशको लौकी, सुनसरी र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशको तिलोत्तमा, रुपन्देही भेला हुने छ।
आजको बैठकले प्रतिष्ठानका प्रमुखको प्रस्तावमा उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ। प्रारम्भमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए। सभापति थापाले नवनियुक्त सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा प्रस्ट पार्नुभएको जनाइएको छ। यसैगरी, प्रतिष्ठानका प्रमुखले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए।