सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको स्याउले–मालम कृषि सडक दशकदेखि अलपत्र, किसानलाई बजार पुग्न सास्ती

२०८३ वैशाख २१, ०३:३९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ । व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानको उत्पादन बजारसम्म पु¥याउन करिब एक दशकअघि स्याउले–दगोडा–मालम कृषि सडक खनिएको थियो ।

२०७० सालमै दगोडा र मालम गाउँलाई स्याउले चोकसँग जोड्ने उद्देश्यले कृषि सडकको योजना अघि बढाई केही ट्र्याक खोलिएको थियो । दगोडा बस्तीमुनिसम्म सडक खनिए पनि मालम गाउँसम्म पुर्याउन नसक्दा योजना अलपत्र परेको हो ।

एक पटक खनिएको सडकको मर्मत–सम्भार नभएकाले हाल गाडी चल्न सक्ने अवस्था छैन । स्थानीय प्रेमबहादुर दियालका अनुसार सडक मर्मतका लागि वडा अध्यक्षलाई बारम्बार जानकारी गराउँदा पनि एक दशकदेखि काम हुन सकेको छैन । उनका अनुसार सडक खण्डको दूरी करिब एक किलोमिटर मात्र छ ।

अहिले ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएको छ । भत्किएको भागमा पर्खाल लगाउने र बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सफाइका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

सुरुमा ५० हजारदेखि एक लाख रुपैयाँसम्मका दरले दुई–तीन पटक अमरगढी नगरपालिकाको बजेटबाट सडक ट्र्याक खोलिएको उनले बताए। त्यसपछि भने सडक सफाइ र मर्मतका लागि बजेट नपरेको उनको भनाइ छ । 

मालम गाउँका दुई दर्जनभन्दा बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आएका छन् । सडक सञ्चालन नहुँदा एक घण्टासम्म पिठ्युँमा कृषि उपज बोकेर उकालो बाटो हुँदै स्याउले बजार पुग्नुपर्ने बाध्यता रहेको उनले बताए।

डडेल्धुराको स्याउले बजार चोक सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण राजमार्ग भीमदत्त राजमार्गमा पर्छ । डडेल्धुराको बागबजारदेखि पूर्व–दक्षिणतर्फ करिब तीन किलोमिटर दूरीमा रहेको स्याउले बजार चोकबाट पूर्वतर्फ डोटी, अछाम र बाजुरा जोड्ने डा. के.आई. सिंह राजमार्ग तथा उत्तरतर्फ बैतडी, दार्चुला र बझाङ जोड्ने मार्ग रहेको छ ।

स्याउले चोकमार्फत सात पहाडी जिल्ला जोडिने भएकाले मौसमी फलफूल र तरकारीको खरिद–बिक्री राम्रै हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए। बजार क्षेत्रमा पसल, खोका, छाप्रा र ठेलामार्फत कृषि उपजको व्यापार भए पनि व्यवस्थित बजारको अभाव रहेको उनको भनाइ छ ।
 

कमेन्ट लोड गर्नुस