सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा तीन सय ४६ जनामा डेङ्गु संक्रमण, एक जनाको मृत्यु

२०७६ भदौ ११, १२:०१ खबर संवाददाता

चितवनमा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। यसैबीच एक जनाको मृत्यु समेत छ। दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ। यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्। स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन्।

जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ। 

यी अस्पतालमा आएका ज्वरोका बिरामीहरूबाट लिइएको नमूनामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो। जिल्लामा हरेक तीनरतीन वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ। कार्यालयले दिएको ७ सय  जनामा सङ्क्रमण देखिएको थियो। त्यस आर्थिक वर्षमा पाँच जनाको ज्यान गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७०÷०७१ मा तीन सय ७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। दुई हजार दुई सय ६१ जनाको परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा डेङ्गु देखिएको होे।

यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा दुई हजार पाँच सय ६२ जनामा परीक्षण गर्दा ६ सय ८७ जनामा डेङ्गु फेला परेको थियो। यो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो। त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा एक सय १९, ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो। आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गएको आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो। 

तथ्याङ्कलाई हेर्ने हो भने हरेक तीनरतीन वर्षमा डेङ्गुको सङ्क्रमण फैलिएर महामारीको रूप लिएको देख्न सकिन्छ। डेङ्गु रोग सरुवा रोग हो। जुन डेङ्गुको विषाणु भाइरसद्वारा सङ्क्रमित भएको ‘एडिस एजिप्टि’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरेको छ। डब्बाहरू, एयर कन्डिसन, एयर कुलर, ड्रमहरू, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फूल पार्ने गर्दछ।

डेङ्गुको सङ्क्रमणको मुख्य लक्षण ज्वरो आउने रहेको भन्दै उनले सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन्।

यसैगरी वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको उनले जानकारी दिए। डेङ्गु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उनले बताए।

कमेन्ट लोड गर्नुस