सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका किसानलाई असिनापानीको त्रास

बाजुरामा पाक्न थालेको गहुँबाली। तस्बिर: शेरबहादुर सार्की
बाजुरामा पाक्न थालेको गहुँबाली। तस्बिर: शेरबहादुर सार्की
२०८३ वैशाख १९, ०८:५३ खबर संवाददाता

बाजुराः बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन्।

गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन्। त्रिवेणी नगरपालिकाका स्थानीय मानबहादुर नेपालीले पाकेको गहुँबालीमा असिनापानीको जोखिम बढेको बताए। 

उनले भने, “कात्तिकमा लगाएको गहुँ अहिले पाकेको छ। यही समयमा दिनदिनै असिनापानी पर्न थालेको छ। पाकेको बाली घरमा भित्र्याउन नपाउँदै नष्ट हुने हो कि भन्ने चिन्ता लागेको छ।”  उनका अनुसार असारको खेतीमा बाढीपहिरोको चिन्ता हुन्छ भने हिउँदे खेतीमा असिनापानीको जोखिम रहने भएकाले किसान सधैँ चिन्तामै रहने गरेका छन्।

बाजुराका अधिकांश क्षेत्रमा यतिबेला गहुँ पाकेर पहेँलपुर भएको छ। खोला किनारका सिँचाइ सुविधा भएका स्थानमा चैत–वैशाखमै गहुँ पाक्ने गरेको छ भने पाखो क्षेत्रमा लगाइएको गहुँ वैशाख–जेठमा पाक्ने गर्दछ। बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ तथा खप्तड छेडेदहलगायत क्षेत्रमा गहुँ खेती राम्रो हुने गरेको छ। सबैभन्दा बढी बुढीगङ्गाका साविकका बह्रबिस, कुल्देवमाण्डौ तथा त्रिवेणीको कैलाशमाण्डौ क्षेत्रमा गहुँ उत्पादन राम्रो हुने गरेको स्थानीय बताउँछन्।

यहाँका किसानले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल तथा स्वर्गद्वारी जातका गहुँ लगाउने गरेका छन्। अधिकांश किसानले भने अझै स्थानीय पुराना जातकै बिउ प्रयोग गर्दै आएका छन्। बाजुरामा कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ। त्यसमध्ये पाँच हजार दुई सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।

गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्ने र वर्षा भए उत्पादन बढ्ने गरेको कृषि प्राविधिकहरू बताउँछन्। उन्नत जातको बिउ प्रयोगले पनि उत्पादन वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बाजुरामा १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ। यहाँबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ।

कमेन्ट लोड गर्नुस