सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु-१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र मावि विजयी

२०८३ वैशाख १२, ०४:१४ रासस

बैतडी: बैतडीमा सम्पन्न यु-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वीरेन्द्र मावि शाहिलेकले जितेको छ। आज भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले हराउँदै वीरेन्द्रले उपाधि रक्षा गरेको हो। 

जितका लागि पाएको १९० रनको लक्ष्य पछ्याएको कालाशैनी १६ दशमलव एक ओभरमा ११७ रनमा समेटियो। जसमा मनोज चन्दले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । बलिङमा वीरेन्द्रका टेकेन्द्र चन्द र सङ्गम ठगुन्नाले तीन-तीन विकेट लिए। 

यसअघि दशरथचन्द खेल मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको वीरेन्द्रले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८९ रन बनायो। उसका सुजल चन्दले अविजित ९५ रन जोड्दै म्यान अफ दी फाइनल भए। कालाशैनीका विक्रम लावडले तीन विकेट झारे।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो। यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय खेलका लागि समावेश गरिनेछ।

कमेन्ट लोड गर्नुस