सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन स्थित सूर्नयागाड जलविद्युत् आयोजनामा दुई वर्षदेखि विद्युत् उत्पादन बन्द

२०८३ वैशाख ३, ०३:१७ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका–६ स्थित सूर्नयागाड जलविद्युत् आयोजनाबाट करिब दुई वर्षदेखि विद्युत् उत्पादन बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्।

प्राविधिक व्यवस्थापन अभाव र एडीआर प्रणालीमा आएको समस्याका कारण आयोजना बन्द भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। एक समय १०० किलोवाट विद्युत् उत्पादन हुँदै आएको आयोजनामा प्रणालीगत समस्या आएपछि पुनः सञ्चालन हुन सकेको छैन।

यसअघि २०० किलोवाट क्षमताको आयोजना २०७९ जेठदेखि पूर्ण रूपमा बन्द भएको थियो। पछि मर्मतपछि २०८० माघदेखि १०० किलोवाट उत्पादन सुरु गरिए पनि पुनः प्राविधिक गडबडीका कारण बन्द भएको हो।

आयोजनाको नहर, संरचना तथा उपकरणमा समस्या देखिएकाले तत्काल सञ्चालन सम्भव नरहेको केन्द्र प्रमुख अशेश्वर शाहले जानकारी दिए। प्राविधिक टोलीले अध्ययन गरी मर्मत तथा पुनः सञ्चालनका लागि पहल भइरहेको जनाइएको छ।

जिल्लामा प्राविधिक व्यवस्थापन अभावका कारण अधिकांश लघु जलविद्युत् आयोजना बन्द हुँदै गएका छन्। सुर्नयागाड आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आए दुर्गम क्षेत्रका बासिन्दालाई विद्युत् आपूर्तिमा सहजता हुने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस