सुदूर नेपाललाई विश्वसँग जोड्दै

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन गर्न माग

२०७६ भदौ ८, ०१:१७ खबर संवाददाता

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्। भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन्। आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘भ्रष्टाचार रोक्न २०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै उनले भने,  हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट यो निर्णय गर्छौं।’

उनले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नुपर्नेमा जोड दिए।
पुराना दलहरुले आमजनता, कर्मचारीलाई दलको छाता नओढी नहुने स्थितिमा र्पुयाएको उल्लेख गर्दै मिश्रले यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने ठोकुवा गरे। ‘पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएका छन,’ उनले भने, ‘जनताले विकल्प नदेखेर बाध्यतावश दलको छाता ओढेका हुन्। अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्छ । दलको मायाजालबाट मुक्त हुनुपर्छ।’

पेशागत सुरक्षाको ग्यारेन्टी भए दलको छाता ओढेर हिँड्नु नपर्ने उनको धारणा छ। दुई तिहाइ बहुमतको बलियो सरकार रहेको जनताले गर्न नपाएको बरु करको भार थोपर्ने काम भएको भन्दै उनले सरकारको आलोचना गरे। सरकारले प्रेसमाथि दुर्नियत राखेको र अनुदार लोकतन्त्रको पक्षपोषण गरेको उनको आरोप छ। 

कमेन्ट लोड गर्नुस