स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’सञ्चालन
बैतडीः महामारी तथा विपद्का बेला सूचना आदानप्रदान गर्न बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन गरिएको छ। केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार आपत्कालीन अवस्थामा एक किलोमिटरको परिधिमा साइरनको आवाज पुग्नेगरी स्वास्थ्य केन्द्र भवनमा साइरन जडान गरिएको छ।
अन्य स्थानमा ‘माइकिङ’ गरी सूचना प्रवाह गरिने जनाइएको छ। स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रले यस्तो व्यवस्था गरेको हो। सतर्कता केन्द्र स्थापना भएसँगै स्थानीयलाई सुरक्षा सचेतना बढाउन बल पुगेको तथा समयमा सेवा प्रवाह गर्न राज्यका निकायलाई मद्दत पुग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।