सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेशका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल: सुशासनदेखि मिटरब्याजसम्मका मुद्दा उठे

२०८२ चैत्र १८, ०४:१५ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग बुधबार छलफल गरेका छन्। बजेटअघि छोटो अवधिमा गर्न सकिने कामबारे सुझाव लिन बोलाइएको बैठकमा मातृका यादव बाहेक ३० जना सांसद सहभागी भएका थिए।

करिब तीन घण्टा चलेको छलफलमा अधिकांश सांसदहरूले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण, सडक–पुल निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या समाधान, साना भन्सार पुनः सञ्चालन र सीमा व्यवस्थापनका विषय उठाएका थिए। साथै ऐलानी जग्गा, मन्दिररपर्ती जग्गा, हुलाकी राजमार्ग, तथा सिडिओ–मालपोत कार्यालयमा हुने सास्तीका विषय पनि उठाइएका थिए।

बैठकमा सांसदहरूले क्रमशः आफ्ना धारणा राखे पनि प्रश्नोत्तर भने नभएको सहभागीहरूको भनाइ छ। प्रधानमन्त्री शाहले अधिकांश समय सुन्दै बिताएका थिए र अन्त्यमा उठेका विषयहरू सम्बन्धित मन्त्रालयमार्फत समाधान गर्ने तथा आवश्यक कागजात उपलब्ध गराउन आग्रह गरेका थिए।

यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस