चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा शुल्क बढाउने घोषणा
चीन र अमेरिकाबीच जारी व्यापार युद्ध झन् बल्झिने देखिएको छ। जवाफी कारबाही गर्दै चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा शुल्क बढाउने घोषणा गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ७५ अर्ब डलरको अमेरिकी उत्पादनमा ५ देखि १० प्रतिशतसम्म शुल्क बढाउने घोषणा गरेको हो। जुन आउँदो सेप्टेम्बर १ र डिसेम्बर १५ बाट लागू हुनेछ।
चीनले शुक्रबार सोयाबिन्स, बदाम लगायत ५ हजार ७८ प्रकारका अमेरिकी उत्पादनमा शुल्क बढाउने घोषणा गरेको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाउने संकेत दिएका थिए।
अमेरिका र चीनबीच गएको एक सालदेखि व्यापार युद्ध चलिरहेको छ, जसको सोझो असर विश्वको अर्थतन्त्रमा देखिएको छ। विश्वको प्रमुख अर्थव्यवस्थाहरु मन्दीको संघारमा पुगेका छन्। यदि यी दुई देशबीच जारी व्यापार युद्ध सन् २०२१ सम्म रहने हो भने अमेरिकी अर्थव्यवस्था मन्दीको चपेटामा आउनसक्ने बताइएको छ। अमेरिकी अधिकारीहरुले भने आउँदो महिना चीनसँगको व्यापार वार्तामा आमने सामने हुने बताएका थिए।