सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडी–१० मा फैलिएको रोग ‘इन्फ्लुएन्जा बी’ भएको पुष्टि

२०८२ फाल्गुन १९, ०७:४७ नारायण अवस्थी

बैतडीः पुर्चौंडी नगरपालिका वडा नं। १० महरागाउँमा केही दिनअघि दुई जना बालकको दुस्खद निधन गराएको रोग प्रयोगशाला परीक्षणबाट ूइन्फ्लुएञ्जा बीू भाइरसका कारण हुने मौसमी फ्लु भएको पुष्टि भएको छ।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार यो कुनै नयाँ रोग नभई हरेक वर्ष देखिने सामान्य मौसमी फ्लु हो। तर विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगी ९दम, मुटु, मधुमेह आदि० भएका व्यक्तिमा छिटो सर्ने र कहिलेकाहीँ निमोनियाजस्ता जटिलता निम्त्याउन सक्ने भएकाले सतर्कता आवश्यक हुन्छ।

स्वास्थ्य शाखा प्रमुख कुँवरले प्रयोगशाला परीक्षणबाट गाउँमा मौसमी ज्वरो फैलिएको पुष्टि भएको बताए।

उनले ज्वरोका कारण १०१–१०३ डिग्रीसम्मको उच्च ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने खोकी लाग्ने र शरीर तथा जोर्नी दुख्ने जस्ता लक्षण देखापर्ने बताए।

यस्तोमा बिरामी निकै कमजोर हुने तथा बालबालिकामा कहिलेकाहीँ वाकवाकी र बान्ता हुने जस्ता लक्षणसमेत विकसित हुने बताइएको छ।

मौसमी ज्वरो आएमा स्वास्थ्यकर्मीहरूले संक्रमित व्यक्तिलाई कम्तीमा ५–७ दिन आराम गर्न र अरूलाई नसरोस् भनेर मास्क प्रयोग गरी छुट्टै बस्ने व्यवस्था गर्न सुझाव दिएका छन्। प्रशस्त मात्रामा तातो पानी, सुप तथा झोलिलो खाना सेवन गर्न, ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्यारासिटामोल प्रयोग गर्न तथा शरीर चिसो पानीले पुछ्ने (ननुहाउने) सल्लाह दिइएको छ।

सामान्य फ्लुमा जथाभावी औषधी सेवन आवश्यक नपर्ने र औषधीले प्रभाव नगर्ने भएकाले चिकित्सकको सल्लाहबिना औषधी प्रयोग नगर्न आग्रह गरिएको छ।

स्वास्थ शाखा प्रमुख कुँवरले सास फेर्न गाह्रो भएमा, छाती दुख्न थालेमा, ज्वरो ३–४ दिनसम्म नघटेमा, बालबालिकामा अत्यधिक सुस्त वा बेहोसजस्तो अवस्था देखिएमा तुरुन्त अस्पताल जानुपर्ने बताए।

यस्तै, ज्वरो रोकथाम गर्न साबुनपानीले नियमित हात धुने, भीडभाडबाट टाढा बस्ने, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने जस्ता सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
स्थानीय प्रशासन तथा स्वास्थ्य संस्थाले अभिभावकलाई नआत्तिई सजग रहन र लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका छन्।

मौसमी ज्वरोले फागुन १० र १६ गते स्थानीय कैलाश महराका १३ वर्षीय र १० वर्षीय छोराको ज्यान लिएको हो। त्यसपछि उक्त गाउँमा स्वास्थकर्मीको टोली पुगेर बिरामीको स्वाव संकलन गरेर परीक्षण गरिएको हो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस