सचेत नागरिक र जिम्मेवार मतको प्रयोग: समृद्ध नेपालको आधार
निरज बोगटी, दिपायल सिलगढी, डाेटीः हाम्रो देश नेपाल हिमाल, पहाड र तराईले सजिएको अनुपम भूगोल; विविध जाति, भाषा, धर्म र संस्कृतिले रंगिएको सुन्दर देश हो। उत्तरमा चीन र दक्षिण, पूर्व तथा पश्चिममा भारत सँग सिमाना जोडिएको हाम्रो देश भौगोलिक रूपमा सानो भए पनि प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर र मानविय विविधतामा अत्यन्तै धनी छ। सगरमाथाको शिखरदेखि तराईका उर्वर फाँटसम्म फैलिएको नेपालको धरातलले पर्यटन, कृषि, जलस्रोत र जैविक विविधतामा अपार सम्भावना बोकेको छ।
तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि हाम्रो विकास यात्रामा राजनीतिक अस्थिरता, कमजोर नीतिगत कार्यान्वयन, भ्रष्टाचार, बेरोजगारी र वैदेशिक निर्भरता जस्ता चुनौतीहरू विद्यमान छन्। यी सबै विषयमा गम्भीर बहस हुनुपर्ने ठाउँमा आज सामाजिक सञ्जाल आरोप–प्रत्यारोप र अन्धआलोचनाको अखडा बन्दै गएको छ।
सामाजिक सञ्जाल: चेतनाको माध्यम कि द्वेषको मञ्च?
सामाजिक सञ्जाल ज्ञान, सूचना आदान–प्रदान र स्वस्थ बहसको उत्कृष्ट माध्यम हुनुपर्ने हो। तर अहिले तथ्य जाँच नगरी समाचार शेयर गर्ने, शीर्षककै भरमा धारणा बनाउने, फरक विचारलाई अपमान गर्ने प्रवृत्ति बढ्दो छ। कुनै पार्टी वा नेताको समर्थन वा विरोध गर्नु लोकतान्त्रिक अधिकार हो, तर बिना अध्ययन गालीगलौज गर्नु लोकतान्त्रिक संस्कार होइन। झन् केही मिडियाले निष्पक्ष सूचना दिनुभन्दा पार्टीगत झुकाव देखाउने आरोप खेपिरहेका छन्। यस्तो अवस्थामा नागरिकको विवेक, आलोचनात्मक चेतना र तथ्य जाँच गर्ने बानी झन् महत्वपूर्ण बन्छ।
वैदेशिक रोजगार र मताधिकारमाथि दबाब
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारले महत्वपूर्ण योगदान दिएको छ। लाखौँ युवायुवती खाडी मुलुक, मलेसिया, कोरिया, जापान लगायतका देशमा पसिना बगाइरहेका छन्। उनीहरूले पठाएको रेमिट्यान्सले घरपरिवार मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा दिएको छ। तर पछिल्लो समय एक चिन्ताजनक प्रवृत्ति देखिएको छ—विदेशमा रहेका केही युवायुवतीले नेपालमा रहेका आफ्ना आमाबुबालाई “फलानो पार्टीलाई भोट हाल्नुस, नत्र पैसा पठाउँदिन, घर आउँदिन” भन्ने धम्की दिनु।
मताधिकार व्यक्तिगत र संवैधानिक अधिकार हो। यसमा दबाब, प्रलोभन वा धम्की दिनु लोकतान्त्रिक मूल्यविपरीत कार्य हो। विदेशमा बसेर देशप्रतिको चिन्ता राख्नु सकारात्मक कुरा हो, तर आफ्नो राजनीतिक धारणा जबरजस्ती थोपर्नु गलत हो। आमाबुबालाई सही सूचना दिनुस, नीतिगत विषय बुझाइदिनुस, तर अन्तिम निर्णय उनीहरूको विवेकमा छोडिदिनुस। लोकतन्त्र भनेकै स्वतन्त्र निर्णयको सम्मान हो।
नेपालको अर्थतन्त्र र विकासको दिशा
नेपाल कृषि प्रधान देश भए पनि कृषि अझै परम्परागत शैलीमा निर्भर छ। जलस्रोतमा विश्वकै धनीमध्ये पर्दा पनि विद्युत् उत्पादन र उद्योग विस्तार पर्याप्त हुन सकेको छैन। पर्यटन क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावले गति लिन सकेको छैन।
धार्मिक पर्यटनका हिसाबले पशुपतिनाथ मन्दिर, लुम्बिनी जस्ता विश्वप्रसिद्ध स्थलहरूले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका छन्। सांस्कृतिक विविधता, चाडपर्व र परम्पराले हाम्रो सामाजिक एकतालाई बलियो बनाएका छन्। तर यी सबै सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न दूरदर्शी नेतृत्व, पारदर्शी शासन र जनउत्तरदायी नीति आवश्यक छ।
कस्ता व्यक्तिलाई रोज्ने?
आउँदो निर्वाचन केवल पार्टीको जीत–हार होइन; यो देशको भविष्य निर्धारण गर्ने क्षण हो। त्यसैले मतदाता सचेत हुन आवश्यक छ—नाराभन्दा नीतिलाई हेर्ने जात, धर्म, क्षेत्रीय भावनाभन्दा योग्यता र इमान्दारितालाई प्राथमिकता दिने विगतमा गरेका कामको मूल्याङ्कन गर्ने शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र आर्थिक सुधारमा स्पष्ट योजना भएको उम्मेदवार रोज्ने पारदर्शिता र उत्तरदायित्व स्वीकार गर्ने नेतृत्वलाई समर्थन गर्ने हामीले दिने एक मतले पाँच वर्षको दिशा तय गर्छ। भावनामा बगेर होइन, तथ्य र भविष्यको दृष्टिकोणबाट निर्णय गर्नुपर्छ।
अन्तिममा,
नेपाल प्राकृतिक, सांस्कृतिक र मानवीय सम्पदामा धनी देश हो। तर समृद्धि केवल स्रोतले होइन, सही नेतृत्व र जिम्मेवार नागरिकताले सम्भव हुन्छ। सामाजिक सञ्जालमा गाली होइन, सचेतना फैलाऔँ। विदेशमा बसेका युवायुवतीले दबाब होइन, सम्मानपूर्वक सल्लाह दिऔँ। आमाबुबालाई स्वतन्त्र निर्णय गर्न दिऔँ। लोकतन्त्र केवल मतदानको प्रक्रिया होइन; यो विचार, विवेक र जिम्मेवारीको अभ्यास हो।
अब समय आएको छ, अन्धभक्त होइन, सचेत नागरिक बन्ने र सही, सक्षम र स्वच्छ नेतृत्वलाई जिताएर समृद्ध नेपालको मार्ग प्रशस्त गर्ने।
त्यसैले आउनुस आउँदै गरेको निर्वाचन केवल पार्टी जिताउने खेल होइन, यो हाम्रो भविष्य रोज्ने अवसर हो। त्यसैले,
- गाली गर्ने होइन, काम गर्ने व्यक्तिलाई रोजौँ।
-नाराभन्दा नीतिलाई हेरेर निर्णय गरौँ।
- भीडको पछि होइन, विवेकको पछि लागौँ।
-चरित्र, इमान्दारिता र उत्तरदायित्वलाई प्राथमिकता दिऔँ।
-शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनको स्पष्ट योजना भएको उम्मेदवारलाई समर्थन गरौँ।
-हामीले दिने एक मतले पाँच वर्षको दिशा तय गर्छ। त्यसैले भावनामा होइन, तथ्यमा आधारित भएर मतअधिकार प्रयोग गरौँ।
अब समय आएको छ,
सामाजिक सञ्जालमा गाली होइन, सचेतना फैलाऔँ।
अन्धभक्त होइन, जिम्मेवार नागरिक बनौँ।
र चुनावमा सही, सक्षम र स्वच्छ व्यक्तिलाई जिताऔँ।
किनकि देश बदल्न पहिला सोच बदल्न जरुरी छ।