सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा किन भयो एमाले र रास्वपाबीच झडप? यस्तो छ कारण!

२०८२ फाल्गुन १४, १२:२५ नारायण अवस्थी

धनगढी: बुधवार बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।

जिल्लाको डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा हिजो साँझ करिब ७ः५० बजे तिर चुनावी घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किँदा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा डिलासैनी–७ का लालसिंह धामी, २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन्। लालसिंह धामी रास्वपा कार्यकर्ता हुन् भने  जनक र माधव दुवै जना एमाले कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। घाइते भएका एमाले कार्यकर्ता माधव धामी र जनक धामीको गोकुलेश्वर अस्पतालमा उपचार गरेर थप उपचारका लागि धनगढी ल्याइएको छ। दुबै जनाको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रास्वपाका घाइते कार्यकर्ता लालसिंह धामीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

घटनामा संलग्न भन्दै रास्वपा समर्थक पक्राउ
घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले पाँच जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। उनले ती पाँचै जना कुन पार्टीका समर्थक हुन भन्ने कुरा अनुसन्धान भइरहेको बताए।

यता रास्वपा जिल्ला सभापति भीम नाथले भने प्रहरीले घटनामा संलग्न भएको भन्दै आफ्नो पार्टी समर्थक पाँच जनालाई मात्रै नियन्त्रणमा लिएको बताए। उनले एमालेले निहुँ खोजेर घटाएको घटनामा रास्वपालाई मात्रै दोषी देखाउने प्रयास भएको भन्दै गुनासो गरेका छन्। 'एमालेहरूले चुनावमा रास्वपाको अवस्था राम्रो दखेर केही दिनदेखि नै झडप गर्ने निहुँ खोजिरहेका थिए। बुधवार साँझ हाम्रो दुई जना समर्थकलाई १२/१५ जनाको संख्यामा आएका एमाले कार्यकर्ताले सुरूमा जिस्काएका हुन्। उनीहरूले नै रास्वपा वडा सभापति लालसिंह धामीलाई रोडबाट धकेलेका हुन्,' जिल्ला सभापति नाथले भने।

एमाले र रास्वपाबीच किन भयो झडप?
बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन्। दामोदर र हरिमोहन गाउँले दाजुभाइ हुन्। दुबै दाजुभाइ चुनावमा आमनेसामने रहेको बेला डिलासैनीमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप भएको हो।

बुधवार रास्वपाका अराजक कार्यकर्ताले एमालेका कार्यकर्तामाथि साङ्घातिक हमला गरेको राष्ट्रिय युवा संघ बैतडीले उल्लेख गरेको छ। घटना लगत्तै निकालिएकमो चेतावनी-पत्रमा युवा संघले रास्वपाले उक्त घटना घटाएको दाबी गरेको छ।

एमालेको युवा संघ बैतडीका अध्यक्ष यज्ञ भट्टका अनुसार प्रचारप्रसारबाट जिपमा फर्कदै गरेका एमाले कार्यकर्तालाई रास्वपाका कार्यकर्ता आएर कुटपिट गरेको दाबी गरेका छन्।

भट्टले जिपमा दुई/चार जना एमाले कार्यकर्ता रहेको बेला रास्वपाका कार्यकर्ता आएर कुटपिट गरेको बताए। 'हिजो डिलासैनीमा झडप भएको हो, हाम्रो प्रचारप्रसारमा रहेका साथीहरूलाई आएर एक्कासी कुट्यो उहाँहरूले,'उनले भने,'साथीहरू गाउँमा ४०/५० को संख्यामा गाउँमा प्रचारप्रसारका लागि जानुभएको थियो, साँझ परेपछि अरु मान्छेलाई साथीहरूले घर पठाएछन्; गाडीमा दुई चार जना मान्छे मात्रै बाँकी रहेको बेला टोलका जाँड खाएका अराजक मान्छेहरू आएर हाम्रो साथीहरूलाई कुटपिट गरेको भन्ने खबर सुनेको छु।'

यता नेकपा एमाले डिलासैनीका अध्यक्ष गोकर्ण रानाले पनि रास्वपा समर्थकहरूले सुरूमा आक्रमण गरेको दाबी गरेका छन्। उनले पूर्व एमालेसमेत रहेका लालसिंह धामी र लोकेन्द्र धामीले निहुँ खोजेर झगडा गरेको बताए। 'लालसिंह धामी र लोकेन्द्र धामी पहिले एमालेका कार्यकर्ता हुन्। लालसिंह धामी २०७९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार पनि हुन्। अहिले गाउँमा प्रचारप्रसार गर्न जाँदा उहाँहरूले नै हाम्रा साथीहरूलाई आक्रमण गरेका हुन्,' एमाले डिलासैनी पालिका कमिटीका अध्यक्ष रानाले बताए।

रास्वपा जिल्ला सभापति भीम नाथका अनुसार एमालेबाट रास्वपामा गएको भन्दै लालसिंह र लोकेन्द्रसिंह धामीसँग रुष्ट भएका जिपमा सवार एमाले कार्यकर्ताहरूले मोटरसाइक सवार रास्वपा कार्यकर्ता लोकेन्द्रसिंह धामीलाई सुरूमा जिस्क्याएको बताए। त्यसपछि उनीहरूबीच विवाद हुन थालेपछि लालसिंह धामी विवाद छुट्याउन जाँदा एमाले कार्यकर्ताहरूले लालसिंहलाई सडककाट हुत्याएको रास्वपा सभापति नाथको दाबी छ।

एकै गाउँका दाजुभाइ नाता पर्ने एमाले र रास्वपा कार्यकर्ताबीच भनाभनसँगै हातपात भएको र सुरूमा झगडा गर्ने निहुँ एमाले कार्यकर्ताले गरेको रास्वपा सभापति नाथको दाबी छ। 'मोटरसाइकल सवार रास्वपा समर्थक लोकेन्द्रसिंह धामीसँग जिपमा सवार १२/१५ जना एमाले कार्यकर्ता सुरूमा निहुँ खोजेका हुन्।

झगडा छुट्याउन जाँदा उनीहरूले रास्वपा वडा सभापति लालसिंह धामीलाई सडकबाट तल खसालेका छन्,' उनले भने, 'एमाले त्यागेर रास्वपामा गएको भन्दै उनीहरूले निहुँ खोजेर झगडा गर्ने र रास्वपालाई बदनाम गर्ने हिसाबले षडयन्त्रपूर्वक घटना घटाएका हुन्। प्रहरीले पनि एमालेकै संरक्षण गरेको देखिएको छ।'
रास्वपा कार्यकर्ता पहिले एमालेमा थिए
बैतडीको डिलासैनीमा अन्य पार्टीभन्दा एमाले बलियो देखिन्छ। २०७४ मा गाउँपालिकामा एमालेको सरकार थियो भने २०७९ मा पनि पालिका अध्यक्षदेखि वडामा एमालेकै कार्यकर्ताहरू स्वतन्त्र उठेर चुनाव जितेका छन्। उनीहरू मध्ये पालिका अध्यक्ष बाहेक सबै अहिले एमालेमा फर्किसकेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका एमाले नेता सुरेन्द्र पालको गृह पालिका पनि डिलासैनी नै हो। उनले मन्त्री भएपछि काँग्रेस, नेकपा र अन्य पार्टीमा लागेका व्यक्तिहरूलाई नेकपमा एमालेमा भित्र्याउँदै आएका छन्। सुरूमा एमालेमै रहेका तर अहिले एमाले परित्याग गरेर रास्वपामा लागेकाहरु प्रति एमालेहरू रुष्ट भएकाले नै बुधवारको घटना घटेको डिलासैनी-७ कै एक जना स्थानीयले दिनेशखबरसँग बताए। उनले घटना हुनुमा कसको गल्ती हो भन्दा पनि घटना घटाउन को बढी जिम्मेवार हो भन्ने कुरा हेरिनुपर्ने बताए।

यता रास्वपाले बैतडीले जिपमा सवार एमाले कार्यकर्ताहरूले मोटरसाइकलमा सवार डिलासैनी-७ का वडा सभापति लालसिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि दर्जनौं एमाले कार्यकर्ताले आक्रमण गरेको दाबी गरेको छ। रास्वपा जिल्ला सभापति नाथले एमालेले बनाएको बाटोमा हिँडेको भन्दै आफ्नो पार्टीका वडा सभापति र सदस्यमाथि एमाले कार्यकर्ताहरूले सुरूमा आक्रमण गरेको दाबी गरेका छन्।

बैतडीमा एमाले र रानस्वपा उम्मेदवार गाउँले दाजुभाइ भएजस्तै डिलासैनीमा एमाले र रास्वपा भन्दै आपसमा भिडन्त गर्नेहरू पनि एकै गाउँका दाजुभाइ हुन्। प्रहरीले भने घटनामा संलग्न भएको भन्दै पाँच जना रास्वपा समर्थकलाई मात्रै नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस