सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन २१ मा कुशासनको सटर बन्द गरौँ: धनगढीबाट रवि लामिछानेको बहुमतको आह्वान

२०८२ फाल्गुन ६, ०३:५८ नारायण अवस्थी

धनगढीः रास्वपाका सभापति रवि लामिछानेले मनपत्रमा छाप लगाए झै फागुन २१ गते मनपत्रमा पनि छाप लगाउन आग्रह गरेका छन्। धनगढीमा आज आयोजित पार्टीको परिवर्तन उद्घोष सभामा बोल्दै उनले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन्।


चुनावी सभालाई सम्बोधन गर्दै रविले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्न रास्वपा तयार रहेको बताए। उनले सुदूरपश्चिमका मुद्दा र मागलाई अल्झाउने काम बन्द हुनुपर्ने बताएका छन्।

उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ। अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ। अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ।’

लामिछानेले जनताको माग पूरा गर्न रास्वपालाई बहुमत दिन अपिल गरेका छन्। उनले प्रत्यक्ष र समानुपातिक दुबै मत यो पटक रास्वपालाई दिन आग्रह गर्दै पार्टीले पाएको मतको कदर गर्दै जनताको सबै माग पूरा गर्ने बताएका छन्।


उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे। यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर यहाँका समस्या हल गर्न र देशको परिवर्तनमा सहभागी हुन घण्टीमा भोट दिन लामिछानेले अनुरोध गरेका छन्। उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरेका छन्।

लामिछानेले सिंहदरवार बदल्न रास्वपालाई भोट गर्न आग्रह गरेका छन्। उनले २५ वर्षसम्म सपनामा डोजर चलाउनेहरू भोट चोर्न आउलान् भन्दै पुराना दलहरू प्रति कटाक्ष गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस