वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार भट्ट र कारञ्जितलाई
काठमाडौँः विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख, उपसमाचारदाता सिद्धराज भट्ट र कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरी कारञ्जितलाई प्रदान गरिने भएको छ ।
रासस कर्मचारी सङ्घले प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उनीहरू दुवैलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको सङ्घका महासचिव छविलाल कुमालले जानकारी दिए।
उक्त पुरस्कार राससको ६५औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते आयोजना हुने मूल समारोहमा वितरण गरिने उनले बताए। भट्ट विसं २०५२ वैशाख र कारञ्जित विसं २०७१ जेठ महिनादेखि राससमा कार्यरत छन्।
पुरस्कारको राशि जनही रु सात हजार ७७७ र सम्मानपत्र रहेको छ। स्व. रिमाल सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ। उनीलगायत राससमा कार्यरत कर्मचारीको सक्रियतामा विसं २०४७ मा सङ्घको गठन भएको थियो। विसं २०६६ साउनमा दिवङ्गत हुनुभएका रिमालको स्मृतिमा सोही वर्ष पुरस्कार स्थापना गरिएको हो। पुरस्कार कोषमा उनकी धर्मपत्नी शारदा रिमालले आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिइन्।
राससको वार्षिकोत्सवका अवसरमा सङ्घले प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई पुरस्कार वितरण गर्दै आएको छ।