सुदूर नेपाललाई विश्वसँग जोड्दै

उम्मेदवार भट्टद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

२०८२ फाल्गुन ५, ११:५३ खबर संवाददाता

बैतडीः प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।

नेकपा एमाले बैतडीका सस्थापक र तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहका भएका उम्मेदवार भट्ट एमालेबाट विभाजित भएको समाजवादी पार्टी हुँदै हाल एकीकरण भएको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार हुन्।

चार पेज लामो प्रतिबद्धता पत्रमा उनले जिल्लाका मुख्य छ वटा भेगमा सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय शिक्षा, कालोपत्रे सडक, कृषि होमस्टे, रोजगारी, जडीबुटी उद्योग, धार्मिक पर्यटन, उद्यमशीलता र वन्यजन्तु नियन्त्रण गर्ने मुख्य प्रतिबद्धता रहेका छन्।  

सोमबार जिल्ला सदरमुकाम गोठालापानीमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार भट्टले सुशासनका लागि श्रोतको न्यायोचित वितरण, रोजगारीका लागि उद्यशीलता, बसाइँसराई रोक्न गुणस्तरीय शिक्षा र जिल्लामा छ ठाउँमा सुविधा सम्पन्न अस्पताल बनाउने बताए।

तत्कालीन जिल्ला विकास समिति बैतडीका पूर्वसभापतिसमेत रहेका भट्टले आफ्नै पालामा सुरु गरेको च्वाँगढ क्षेत्रको बिप्याकटाल–ढुङ्गाढ सडक, दुदिलाखान–गाँजरी–थलाकाँडा सडक, श्रीभावर–बचपानी–शिवलिङ सडक कालोपत्रे गर्ने योजना रहेको सार्वजनिक गरे।

त्यसैगरी, दोगडाकेदार क्षेत्रको खोचलेक–रिम सडक, सदरमुकामदेखि तल्लोस्वराड जोड्ने देहिमाण्डौं– गिरेगाडा, देहिमाण्डौं–सलेना सडक र बैतडी–दार्चुला र बझाङ जोड्ने सतबाँझ–श्रीभावर सडकलाई महाकाली करीडोरसँग जोड्ने सार्वजनिक गरे।  

उनले धार्मिक पर्यटन क्षेत्रमा विगतमा काम गरेको अनुभव सुनाउँदै पातालभूमेश्वर क्षेत्रमा गुरुयोजना अनुसार काम भएपछि अहिले भारतीय पर्यटक आउन सुरु गरेको बताए। बैतडीजासीले अमूल्य मत दिएर जिताएमा आफूले ग्वाल्लेक संरक्षित क्षेत्र र सिगास संरक्षित क्षेत्रमा रहेका जडीबुटी र वनपैदावरमा आधारित उद्योग स्थावना गर्ने प्रतिबद्धता जाहेर गरे।

बाँदरका कारण पछिल्लो समय गाउँका किसान विस्तापित हुँन थालेको बताउँदै उहाँले कृषिमा विविधता ल्याएर टिमुरखेती, बेसार, अदुवा र अमिलो जातको फलफुुल खेतीलाई प्राथमिकता दिने बताए। प्राकृतिक विपदका हिसाबले जोखिममा परेका ढुङ्गाड क्षेत्र, ढिक, सलेना र गोकुलेश्वरको पहिरो रोकथाम र भू–क्षय रोक्ने योजना अघि सारे।

त्यसैगरी, उनले जिल्ला अस्पताल बैतडीलाई ५० शय्याको दरबन्दी स्वीकृत गरेर दक्ष जनशक्तिसहित सुविधा सम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धतासमेत सार्वजनिक गरे। उनले रोजगारीका लागि युवाहरु भौतारिनु पर्ने अवस्था रहेकाले बैतडीमै रोजगारी सिर्जना गर्न फस्फोराईट खानी, फलामखानी र चुनढुङ्गा उत्खनन र अन्वेषणको काम अघि बढाउने बताए।

उनको प्रतिबद्धता पत्रमा सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफुल विकास केन्द्रलाई कृषि होमस्टेमा रुपान्तरण गरेर कृषि पर्यटकसमेत भित्र्याउने बताए।  गोरखापत्र बाट 

कमेन्ट लोड गर्नुस