सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-२ मा नेकपाबाट उम्मेदवार नन्दबहादुर साउदद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

२०८२ फाल्गुन ४, ०२:४८ खबर संवाददाता

घोडाघोडीः कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।  

उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कैलाली २ को शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, पूर्वाधार तथा भौतिक विकासलगायत समग्र विकासको योजना समेटिएका छन् ।

उनले लैङ्गिक जातीय सबै प्रकारका विभेद अन्त्य गर्दै सबै जातजाति, भाषा, धर्म, समुदाय भएको आफ्नो क्षेत्रको पूर्वाधार विकास, युवा पलायन, जीवन उकास्ने, दिगो विकास, सामाजिक न्यायलाई जोड दिँदै आफूले पाँचबर्से योजनालाई जनताका माझ प्रतिबद्धता पत्रका रूपमा लैजाँदै गरेको बताए। 

उनले प्रस्तुत गरेको प्रतिबद्धतापत्रमा विकासका योजनासहित युवादेखि वृद्धसम्मका कुरालाई समेटिएको छ । सिपवान युवा, समृद्ध समाज, स्वदेशमै रोजगारी, युवाको सुरक्षित भविष्य, श्रमको सम्मान, श्रमिकको सुरक्षा, एक वडा, एक सिपमूलक तालिम केन्द्रको स्थापनालगायत युवालक्षित रोजगारीका कार्यक्रम लागु गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ । 

त्यसै गरी नयाँ उद्यम, व्यवसाय गर्ने युवाका लागि बिनाधितो ऋण दिने व्यवस्था मिलाइने, परम्परागत सिपलाई उद्योगमा विकास गर्ने, आधुनिक कृषि, समृद्ध किसान योजनामार्फत किसानका सबै समस्या समाधानमा पहल गर्ने, प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रमा थारू संस्कृति संरक्षणका लागि थारू सङ्ग्रहालय, कृषि उद्यमका लागि विभिन्न खेतीमा प्रोत्साहन कार्यक्रम, विभिन्न आन्दोलनमा सहिद परिवारलाई प्रत्येक वर्ष सम्मान तथा सहिदगेट निर्माण, लम्कीचुहामा निर्माणाधीन अस्पताललाई पूर्णता दिने उनले प्रतिबद्धता जनाएका छन्।
 
त्यसै गरी सेती लोकमार्गको निर्माण कार्यलाई यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल, डुडेझारी औद्योगिक क्षेत्र स्थापनाका लागि विशेष पहल, चिसापानी कुँइने हुँदै अछाम जोड्ने मार्ग द्रुत गतिमा अगाडि बढाइने, लम्की –राजकाँडा, डुडेझारी–टीकापुर, बौनिया–खिमडी सडक निर्माणकार्य पूरा गर्ने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

सबै शैक्षिक क्षेत्रका समस्यालाई मध्यनजर गर्दै गुणस्तर शिक्षा र दिगो व्यवस्थापनमा पहल गरिने, लैङ्गिक हिंसा, जातीय विभेद अन्त्यका लागि विशेष पहल गरिने, भ्रष्टाचारविरुद्ध आवाज उठाउने, शैक्षिक संस्थामा पढ्दै कमाउँदै योजना ल्याउने, श्रमको सम्मान र उचित ज्याला र सामाजिक सुरक्षाका विषयमा प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

त्यसै गरी लम्की, भल्का, चुहा, बौनिया, मुडा, चिसापानी, बल्यौर, कटासे व्यापारिक केन्द्र बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने, भूमिहीन दलित, सुकुमवासीलाई लालपुर्जा दिन पहल गरिने छ । अपाङ्गमैत्री भौतिक निर्माण, समावेशी शिक्षा, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउन भूमिका खेल्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

२०७४ सालको चुनावमा सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा निर्वाचित भएका साउद प्रतिनिधि सभा निर्वाचनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्दै छन् । यसअघि प्रतिनिधि सभा निर्वाचन लड्नुभएका कुनै पनि उम्मेदवार अहिलेको चुनावी प्रतिस्पर्धामा छैनन् । 

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल र नागरिक उन्मुक्ति पार्टी नेपालबाट पतिराम चौधरी उम्मेदवार बनेका छन ।

२०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरीले चुनाव जितेका थिए। कैलाली क्षेत्र नम्बर २ मा अन्य दलसमेत चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।  
 

कमेन्ट लोड गर्नुस