कैलाली-१ का काँग्रेस उम्मेदवार चौधरीले गरे चुनावी संकल्पपत्र सार्वजनिक
धनगढीः धनगढीमा नेपाली काँग्रेसका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जनकराज चौधरीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन्। उनले 'समुन्नत, समावेशी र विकासोन्मुख कैलाली–१' निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, कृषि, युवा रोजगारी, पर्यटन, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेका छन्।
शिक्षा र प्राविधिक विकासमा जोड
‘शिक्षा नै लोकतन्त्र र विकासको आधार’ भन्ने नारासहित चौधरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार, डिजिटल कक्षा सञ्चालन तथा अंग्रेजी र सूचना प्रविधि शिक्षामा विशेष ध्यान दिने योजना अघि सारेका छन्। प्राविधिक शिक्षालयहरूको स्तरोन्नति, सिटिईभिटी अन्तर्गतका कार्यक्रम सुदृढीकरण, कृषि विद्यालय तथा पोलिटेक्निक संस्थासँग सहकार्य गरी शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्य लिइएको छ। गरिब, थारू, दलित, महिला तथा सीमान्तकृत समुदायका विद्यार्थीका लागि ‘सांसद छात्रवृत्ति कोष’ स्थापना गरिने उल्लेख छ।
कृषि आधुनिकीकरण र आत्मनिर्भरता
‘कृषि अर्थतन्त्रको मेरुदण्ड हो’ भन्दै उनले सिँचाइ विस्तार, कृषि यान्त्रिकीकरण र जलवायु अनुकूल खेती प्रणालीमा जोड दिएका छन्। रानी जमरा कुलरिया सिँचाइ आयोजना को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइनेछ। धान, गहुँ, मकै, तरकारी, माछा तथा पशुपालनमा व्यवसायिकरण, शीतभण्डार स्थापना, सहुलियत ऋण र बिमा सुविधा सुनिश्चित गर्ने योजना समेटिएको छ। युवालाई कृषि उद्यमशीलतातर्फ आकर्षित गर्न ‘सिड मनी’ कार्यक्रम सञ्चालन गरिनेछ।
युवा तथा रोजगारी कार्यक्रम
'विदेश होइन, गाउँमै अवसर' भन्ने नारासहित सिप विकास तथा उद्यमशीलता केन्द्र स्थापना, ‘पढौँ र कमाऔँ’ कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि पुनःस्थापना कार्यक्रम र सार्वजनिक–निजी साझेदारीमार्फत रोजगारी सिर्जना गरिने प्रतिबद्धता जनाइएको छ।
पर्यटन र सांस्कृतिक संरक्षण
कैलाली–१ लाई पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित टीकापुर पार्क, घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज र चिसापानी क्षेत्र जोड्ने पर्यटकीय मार्ग निर्माण गरिने योजना छ। थारू सांस्कृतिक पर्यटन, होमस्टे प्रवर्द्धन तथा धार्मिक स्थल संरक्षणमा जोड दिइने उल्लेख गरिएको छ।
स्वास्थ्य र पूर्वाधार विस्तार
‘स्वास्थ्य नागरिकको मौलिक अधिकार हो’ भन्दै टीकापुर अस्पताल लाई १०० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरिएको छ। साथै सडक, सिँचाइ, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी बढाइनेछ। टीकापुर–सनकट्टी, टीकापुर–जोशीपुर–भजनी सडक कालोपत्रे, सेती लोकमार्ग र कर्णाली करिडोर विस्तारमा पहल गरिने प्रतिबद्धता छ।
सुशासन र पारदर्शिता
'राजनीति सेवा हो, व्यापार होइन' भन्ने उद्घोषका साथ चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, नियमित जनसुनुवाइ, वार्षिक सार्वजनिक प्रतिवेदन तथा तथ्यमा आधारित नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।