सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम–२ मा यज्ञ बोगटीको तीव्र चुनावी दौड, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

२०८२ फाल्गुन ४, १०:३७ खबर संवाददाता

धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा अछाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बनेका छन्। उम्मेदवारहरू घरदैलो, टोलभेला तथा वडा भेलामार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बोगटीले आफ्नो चुनावी अभियानलाई व्यापक बनाएका छन्। गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गरिरहेका बोगटीले बलियो संगठन र जनसमर्थनका आधारमा आफ्नो जित सुनिश्चित हुने दाबी गरेका छन्।

उनले २०७४ सालमा अघि सारेका विभिन्न विकास योजनाहरू विभिन्न कारणले अधुरा रहेको उल्लेख गर्दै ती योजनालाई पूर्णता दिन पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन्। चिसापानी–जंगलघाट–खक्रौला सडकलाई हिल्सासम्म जोडेर क्षेत्रलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने आफ्नो दीर्घकालीन योजना रहेको उनले बताएका छन्। आफूले सुरु गरेका योजनाहरू अलपत्र पर्नु दुःखद भएको उल्लेख गर्दै अब ती सबै योजना पूरा गर्ने जिम्मेवारीका साथ अघि बढेको उनको भनाइ छ।

चुनावी अभियानका क्रममा मतदाताबाट उल्लेख्य साथ र समर्थन पाएको बोगटीको दाबी छ। जनताको माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। एमाले सधैं जनताको पक्षमा उभिएको पार्टी भएको उल्लेख गर्दै जनताको दुःख–सुखमा साथ दिने परम्परा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दूरदराजका बस्तीमा पुग्दा विगतमा अपेक्षाअनुसार विकास हुन नसकेको गुनासो सुन्नु परेको उनले बताए। अब सक्षम नेतृत्वमार्फत विकास र समृद्धि सम्भव हुने विश्वास मतदाताले व्यक्त गरेको उनको भनाइ छ।

को हुन् यज्ञ बोगटी?
यज्ञ बोगटीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। २०५० सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बनेका उनी २०५१ मा संयोजक र २०५३ मा केन्द्रीय सदस्य बने। त्यसपछि २०५४ मा एमाले जिल्ला कमिटी सदस्य, २०५९ मा क्षेत्रीय संयोजक तथा २०६४ र २०६९ मा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाले।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवारलाई २ हजार ८५९ मतान्तरले पराजित गर्दै संसद यात्रा तय गरेका थिए। २०७९ को निर्वाचनमा गठबन्धनका कारण पराजित भएका बोगटी यसपटक पुनः जनमत लिन मैदानमा उत्रिएका छन्।

अछाम–२ मा यसपटक ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा बोगटीले भने संगठनको बल र जनसमर्थनका आधारमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस