कैलालीमा माघ महिनामा ५९ दुर्घटना: ८ जनाको मृत्यु
कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सवारी दुर्घटना र राजस्व संकलन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, सो महिनामा कुल ५९ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ७० वटा सवारी साधन संलग्न रहेको र दुर्घटनामा ८ जनाको मृत्यु तथा ६९ जना घाइते भएका छन्।
सवारी दुर्घटनामा चालकको गल्तीका कारण ४२ वटा दुर्घटना भएका छन् भने यात्रुको कारणले ९ वटा दुर्घटना भएका छन्।
सवारी नियम उल्लङ्घन गर्ने १३७९ वटा सवारी साधनमा कारवाही गरिएको छ भने राजस्व संकलन रकम ११,५२,५०० रुपैयाँ पुगेको छ।
सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउन माघ महिनामा ३९ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।