बैतडीमा नसर्ने रोगविरुद्ध घरदैलो अभियान, ६६ टोलमा स्वास्थ्य परीक्षण
दशरथचन्द: जिल्लामा नसर्ने रोगको जोखिम बढ्दै गएपछि स्वास्थ्य परीक्षण अभियानलाई तीव्र बनाइएको छ। स्वास्थ्यकर्मीहरू समुदायस्तरमै पुगेर टोल–टोलमा नागरिकको स्वास्थ्य जाँच गरिरहेका छन्।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत गाउँपालिकाका सबै आठ वडाका ६६ टोलमा स्वास्थ्यकर्मी परिचालन गरी परीक्षण कार्य भइरहेको छ। जाँचका क्रममा आवश्यकताअनुसार औषधि वितरणसमेत गरिँदै आएको छ।
३० वर्षमाथिका नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। विशेषगरी उच्च रक्तचाप, मधुमेह तथा उचाइ–तौलको अनुपात ९बीएमआई० जाँचमा जोड दिइएको छ। परीक्षणका क्रममा रोग पहिचान भएका बिरामीलाई थप उपचार आवश्यक परे अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ।
परीक्षण गरिएका झन्डै ५० प्रतिशत व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको तथ्यांक सार्वजनिक गरिएको छ। प्रारम्भिक अवस्थामै रोग पहिचान र न्यूनीकरणका लागि सबैलाई परीक्षणको दायरामा ल्याउने लक्ष्य रहेको जनाइएको छ।
यसैगरी सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले नसर्ने रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै बिरामीलाई उपचार सेवामा जोड्न अभियान सञ्चालन गरिएको जानकारी दिए। पालिकाबाट आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीलाई समुदायमा परिचालन गरिसकिएको उनले उल्लेख गरे।