धनगढीमा ऐश्वर्य क्याम्पससँगै खुल्यो 'बाजेको सेकुवा', जनस्वास्थ्य ऐनको उडाइयो धज्जी!
धनगढीः अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको ‘बाजेको सेकुवा’ले धनगढीमा आफ्नो व्यवसाय विस्तार गर्दै ऐश्वर्य बहुमुखी क्याम्पस नजिकै नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
धनगढी-५ स्थित ऐश्वर्य बहुमुखी क्याम्पससँगै जोडिएको भवनमा खुलेको उक्त सेकुवा घरको उद्घाटन माघ २८ गते गायक चक्र बमले गरेका हुन्।
चार दशकअघि काठमाडौं विमानस्थल क्षेत्रबाट व्यवसाय सुरु गरेको बाजेको सेकुवाले अहिले नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा समेत ब्रान्ड स्थापित गरिसकेको छ। फ्रान्चाइज मोडेलमा सञ्चालन हुने यो ब्रान्डले स्वच्छता, गुणस्तर र स्वादमा एकरूपता कायम राख्दै आएको दाबी गर्दै आएको छ।
धनगढी-५ मा खुलेको 'बाजेको सेकुवा' मा सेकुवा मात्रै नभई मदिरासमेत बिक्री वितरण हुनेछ। तर धनगढी उपमहानगरपालिकाले निर्माण गरेको 'धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को व्यवस्था विपरीत 'बाजेको सेकुवा' सत्र्चालन गर्ने अनुमति दिइएको पाइएको छ।
उपमहानगरपालिकाले २०७७ मै तयार गरेको स्वास्थ्य ऐनको दफा ३० को (३) मा 'सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको विक्री वितरण र प्रयोगमा नियन्त्रण गर्न निशेधित र खुल्ला क्षेत्रहरु तोक्न सक्नेछ। विद्यालय, सरकारी कार्यालय, स्वास्थ्य संस्था ,हाटवजार जस्ता क्षेत्रहरुको ३०० मिटर भित्र धुम्रपान र मदिरापान निषेध गर्नेछ' भन्ने व्यवस्था छ।
तर उपमहानगरपालिकाले भने आफैले निर्माण गरेको कानुनको धज्जी उडाउँदै क्याम्पस भवनसँगै जोडिएको घरमा सेकुवा सेन्टर सञ्चालन गर्ने अनुमति दिएर मदिराजन्य वस्तुको बिक्री वितरण र उपभोग गर्नुलाई वैधानिकता दिएको गुनासो गरिएको छ।
ऐश्वर्य क्याम्पसकै छेउमा सेकुवासँगै मदिरा बिक्री गर्नेगरी व्यवसाय थालिएपछि विद्यार्थीलाई नकारात्मक प्रभाव पर्ने हो की ? भन्ने चिन्ता गरिएको छ।
विद्यालय, क्याम्पस र सार्वजनिक स्थान नजिक मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्नेमा उल्टै उपमहानगरपालिकाले क्याम्पसँग जोडिएको घरमा सेकुवा र मदिरा बिक्री गर्ने अनुमति दिनु गलत काम भएको सर्वसाधारणले टिप्पणी गरेका छन्।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐनमा गरिएको व्यवस्था यस्तो छः