सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओल्के पर्वको पिङ

२०७६ भदौ १, ११:१७ खबर संवाददाता

हाम्रा बिभिन्न चाडपर्वहरु मध्ये ओल्के पर्व मौलिक एवंम बिशेष महत्वको पर्व मानिन्छ। सुदूरपश्चिमका केही क्षेत्रमा धुमधामका साथ मनाइने यस पर्वले धार्मिक तथा सामाजिक महत्व बोकेको छ। यस पर्वको आगमनसँगै रोगब्याध तथा किराजन्य बस्तुको आक्रमणको डर पनि घट्दै जाने जनबिश्वास गरिन्छ। त्यसैले बाच्नेले ओल्के खानु भन्ने कथन समाजमा प्रचलित छ। यस भनाइबाट पनि ओल्के पर्वले समाजमा सकारात्मक सन्देश प्रसारण गरेको देखिन्छ। साथै यस पर्वले बर्षातसँगै रुझेभिजेर काम गर्दा थकित र गलित मनको भारी विसाउने चौतारीको रुपमा काम गरिदिन्छ। यस पर्वमा निम्न कार्यहरुले गरिने भएकाले अझै यस पर्वको महत्व बढेको छ। 

ओल्केको पिङ
देशका बिभिन्न स्थानहरुका दशैंमा पिङ खेल्ने प्रचलन रहेको छ। तर यस क्षेत्रमा भने ओल्के पर्वमा पिङ खेल्ने प्रचलन रहेको छ। पिङ खेल्ने प्रचलनबाट पनि यस चाडको फरकपना देख्न सकिन्छ। यस पर्वमा पिङ बाटेर हाल्नका लागि केटाकेटीहरु रमाइरमाइ रहड बहाडका साथ बाँबियो जम्मा गर्छन। त्यति बाबियोले मात्र नभ्याए पछि घरघरबाट समेत उठाउछन्। साउन मसान्तको दिन पिङ बाट्छन र अग्लो रुखको हाङ्गामा हाल्छन्। केटाकेटीहरुले पिङ हालेकै समय देखि खेल्न शुरु गर्छन भने बूढाबूढी र जान्ने मान्नेहरु भाद्र सक्रान्तिका दिन अर्थात ओल्के पर्वको दिन पिङमा खुट्टा राख्छन्। यस पर्वमा अनिबार्य रुपमा पिङमा खुटटा राख्नु पर्छ भन्ने मान्यता रहि आएको छ, किनभने एकातिर ओल्केको पिङ खेल्दा एक दिन भए पनि आफ्ना पाइलाहरु धरतीमाताको छातीबाट हट्ने र त्यसबाट धरती माताको बोझमा केही कमी हुने धार्मिक जनविश्वास रहेको छ भने अर्कोतर्फ बर्षभरिको थकान मेटाउने मनोरञ्जनका साधनका रुपमा पनि पिङ्लाई लिन सकिन्छ। 

ओल्केको भँयरी
बिशेष गरी भँयरी ओल्केमा लगाउने गरिन्छ। भँयरी लाउनेहरुले अघिल्लो दिन बिभिन्न प्रकारका जडिबुटीहरुका जरा जम्मा गर्दछन्। तिनीहरुलाई राम्रोसंग पखाल्छन्। भयरीसंगै यी सबै जडीबुटीहरु मिसाइ ओखलमा कुट्छन्। लेदो बनाएर कुटी सकेपछि साँझ खाना खाएर त्यो लेदोलाई दुबै हातमा राखी ठूलाठूला पातले रातभरि हात बाधेर भँयरी लाउनेहरु सुत्छन्। दोस्रो बिहान फर्सीका पातले बाधेका हातहरु खोल्छन्। पिङ खेल्ने बेला हातहरु राता राता चमकदार हुन्छन्। एक पटक यो भँयरी लगाएपछि झण्डै १५ दिन भन्दा बढीसम्म हातमा रहने गर्दछ। यसरी यस भँयरी लगाउने परम्मराले एकातिर हातको सौन्दर्यता बढाएको देखिन्छ भने अर्कोतर्फ बर्षाको हिलो र पानीद्वारा गलित हातहरुमा त्यस जडिबुटीले औषधिको काम गरी संरक्षण गरेको पाइन्छ। 

ओल्केको खसी
ओल्के पर्वमा आफूभन्दा ठूला र समाजका भद्र, भलाद्मी तथा जान्नेमान्नेलाई हरियो सागलाई खसीमानी खसी दिने परम्परा छ। साथै समाजमा परम्परागत पेसा अँगालेका जातिहरुले पनि भद्र, भलाद्मी तथा जान्नेमान्नेलाई आफ्ना सीप अनुसारको उपहार दिने र भद्र, भलाद्मी तथा जान्नेमान्नेले पनि उक्त उपहारको सम्मान स्वरुप अन्न, मासु भात तथा अन्य खाने कुराहरु दिने चलन छ। यस चलनले समाजमा साना तथा ठूला र एक जाति र अर्को जाति बिच जातीय तथा सामाजिक सहिस्षुणता बृद्धि गर्नमा सहयोग पुगाएको देखिन्छ। 

ओल्के खाने र दिने चलन
यस पर्वबाट इष्टमित्रहरुका बिच सानो नाता पर्नेले ठूलो नाता पर्नेलाई ओल्के दिने प्रचलनको शुरुवात हुन्छ। यसले गर्दा एक घरमा पाकेको मिठो मिठो खानेकुराहरु अर्को घरमा दिने गरिन्छ। एक आपसमा भेटघाट हुन्छ। सुख दुखका कुराकानी गर्ने वातावरण मिल्छ। आपसी नाता सम्बन्ध बलियो हुनुका साथै दिर्घकालिन हुन्छ। त्यसैले यस चाडको सामाजिक महत्व समेत रहेको पाइन्छ।
 

कमेन्ट लोड गर्नुस