सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसमा नयाँ समीकरण: कोइराला समूह देउवा धारबाट अलग, गगन थापालाई नेतृत्व स्वीकार्ने संकेत

२०८३ वैशाख ६, ०२:४६ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको अन्तिम फैसलापछि पार्टीभित्र नयाँ राजनीतिक समीकरण देखिन थालेको छ। तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट कोइराला परिवारसहितका मध्यमार्गी नेताहरू अलग हुने संकेत देखिएको छ।

कोइराला परिवारका नेताहरूले आइतबार धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको देउवा समूहको बैठक बहिष्कार गरेका छन्। त्यसअघि विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छुट्टै छलफलपछि उनीहरू गगन थापा नेतृत्व स्वीकार्दै अघि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ।

उक्त भेलामा डा. शेखर कोइराला, डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरुङ सहभागी थिए। नेताहरूले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध राखेर अघि बढ्ने निष्कर्ष निकालेको बताएका छन्।

“हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौँ,” नेता गुरुङले भने, “कांग्रेसलाई एक बनाएर लैजानुपर्ने कुरामा हामीबीच एकमत छ।”

धनराज गुरुङको पहलमा बसेको उक्त भेलामा कोइराला परिवारका नेतासहित अन्य केन्द्रीय सदस्य र सांसदहरूको समेत सहभागिता रहेको बताइएको छ। यस घटनासँगै कांग्रेसभित्र शक्ति सन्तुलन नयाँ दिशातर्फ मोडिन थालेको देखिएको छ।
 

कमेन्ट लोड गर्नुस